April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिममा थपिए ११६ जना कोरोना संक्रमित, कुल संख्या १२७७ पुग्यो

धनगढी असार ९(ई-रैवार)
सुदूरपश्चिममा मंगलबार थप एकसय १६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ६७ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका ११ महिला र नौँ पुरुष गरी २० जना, बझाङका तीन महिला र १६ पुरुष गरी १९ जना, कैलाली एक महिला र १५ पुरुष गरी १६ जना, कञ्चनपुरका दुई महिला र सात पुरुष गरी नौँ जना, अछामका दुई महिला र डडेल्धुराका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
उनीहरुको स्थानीय तह भने खुलाईएको छैन्। यता सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको छ।
उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना, भजनीकी १९ बर्षीय युवती र कैलालीकै ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो। ४२ बर्षीया महिलाको स्थानीय तह खुलेको छैन्। यस्तै कञ्चनपुरको बेलौरी, बाजुरा र बझाङका एक÷एक जना पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार दुई सय ७७ पुगेको छ।