March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

संकटमा होटल व्यवसाय, बजेटमा ठोस योजना ल्याउन प्रधानमन्त्रीसंग माग

डोटी जेठ ११ (ई-रैवार) 
जारी कोभिड-१९को महामारीमा लगाईएको ‘लक-डाउन’का कारण सबैजसो आर्थिक गतिविधिमा असर परेको छ ।
यस्तोमा होटल व्यवसाय अछुतो छैन । यहि परिपेक्ष्यमा होटल व्यवसायमा परेको असरलाई घटाउन आगामी आर्थिक वर्षको बजेटमार्फत ठोस योजना ल्याउन प्रधानमन्त्रीलाई होटल व्यवसायी संघ डोटीले माग गरेको छ ।
आईतबार संघले जिल्ला प्रशासन कार्यालय डोटीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । ज्ञापनपत्रमा लकडाउनले होटल व्यवसायमा परेको प्रभावलाई सम्बोधन गर्न विभिन्न आठवटा मागहरू राखिएको छ ।
ज्ञापनपत्रमा जारी कोरोना महामारी पूर्ण रूपमा नहटेसम्म होटल व्यवसाय सुचारू हुन नसक्ने अवस्थामा होटल व्यवसायीको संरक्षण र सो क्षेत्रमा संलग्न मजदुरको दैनिक जिविकोपार्जनमा न्यूनतम राहतको प्रबन्धसहितको व्यवस्था गर्न माग गरिएको छ ।
यस्तै भाडाको घरमा सञ्चालन भएका होटलहरूका सन्दर्भमा कोरोनाअवधिभर भाडा मिनाहा र त्यसपछि होटल सञ्चालन भएको तिनमहिनासम्म आधा भाडा घटाउनेगरी घरनधनीलाई असर नगर्नेगरी व्यवस्था गर्न माग गरिएको छ ।
होटल व्यवसायी लिएको ऋणका सन्दर्भमा कोरोना अवधिभर ब्याज मिनाहा र त्यसपछि दुईबर्षसम्म सहुलियत व्यजदर कायम गर्नेगरी योजना ल्याउन सरकारसंग माग गरिएको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि होटल व्यवसायमा गरिएको लगानी असुरक्षित भएको अवस्थामा व्यवसायीले लिएको ऋण लगानीका विषयमा पनि सरकारले ध्यान दिनुपर्ने संघले माग माग गरेको छ ।
जारी कोरोना महामारी अवधिमा होटललाई क्वारेनन्टाईन र आईसोलेसनका रूपमा प्रयोग गर्न चाहे सरकारलाई सहयोग गर्ने उल्लेख गर्दै यस अवधिमा व्यवसाय सुन्यताको अवस्थालाई मध्यनजर गर्दै सरकारले लिने सम्पूर्ण कर मिनाहाका लागि पनि ज्ञापनपत्र मारूफत माग गरिएको छ ।
विज्ञप्तिमा उल्लेखित मागहरूप्रति सरकारले नजरअन्दाज गरे सम्पूर्णोटल व्यवसाय ठप्प हुने संघका अध्यक्ष राजेन्द्र शाहीले बताए । उनले भने,’सरकार व्यवसायीको अभिभावक पनि हो । यसैले व्यवसायिक सुरक्षामा अभिभावकत्व पनि वहन गर्नेछ भन्ने अपेक्षा छ ।’