August 24, 2026, Monday
२०८३ भाद्र ९

महामारीविरुद्ध जुझिंरहेका चिकित्सकसंग सरकारले स्पष्टिकरण माग्यो

काठमाण्डौं वैशाख ६(ई-रैवार)
कोभिड-१९को महामारीका बेला यसको उपचारमा खटिएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका वरिष्ठ चिकित्सक डा.शेरबहादुर पुनलाई सरकारले स्पष्टिकरण सोधेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार पुनसँग लिखित स्पष्टिकरण सोधेका हुन्। स्रोतका अनुसार डा.पुनलाई सञ्चारमाध्यममा दिएको धारणामाथि प्रश्न उठाउँदै मन्त्री ढकालले स्पष्टिकरण सोधेका छन् ।
‘स्पष्टिकरण पत्र आएको छ। आइतबार स्पष्टिकरणका लागि मन्त्रालय जान्छु,’ डा.पुनले भने, ‘जापान छोडेर देशका लागि काम गर्न आएको हुँ। काम गर्दा यस्तो पुरस्कार दिन्छन् भने ठीकै छ।’
स्वास्थ्यमन्त्री ढकालले डा. पुनलाई केही दिनदेखि तनाव दिदै आएका छन् । उनले मन्त्रालयमै हाजिर गर्न उर्दी पनि जारी गरेका थिए।
महामारीका बेला बिज्ञ चिकित्सकलाई मन्त्रालयमा जगेडामा तान्ने र स्पष्टिकरण सोधेर मनोबल थप कमजोर बनाउने प्रयत्न गरेको स्वास्थ्यकर्मीको आरोप छ ।
नेपालमा डेंगू, स्वाइन फ्लू, मलेरिया, एचआइभी लगायतको उपचारमा डा. पुनकै नेतृत्वको टिमले काम गर्दै आएको छ।
उनले नै जिल्ला जिल्लामा गएर त्यहाँका चिकित्सकहरुलाई संक्रामक रोगको तालिम पनि दिने गरेका छन्।
डा.पुन लामो समयदेखि टेकु अस्पतालमा सरुवाको उपचारमा क्रियाशिल छन्। उनी नेपालका सीमित संक्रमण रोग विशेषज्ञमध्ये सबैभन्दा वरिष्ठ हुन्।