कोरोना अवधिमा शिखर नगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने

डोटी चैत्र २२(ई-रैवार)
डोटीको शिखर नगरपालिकाले नोवेलकोरोनाभाईरस(कोभिड१९)को महामारी रोकथाममा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । शनिबार बसेको नगर कार्यपालिका वैठकले जारी महामारीको अवधिभर नगरमा कार्यरत सबै स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।
बैठकले लकडाउनको समयमा क्वारेनटाइन लगायतका जोखिमपूर्ण काममा खटिने स्वास्थ्यकर्मीलाई ६० प्रतिशत र सामान्य स्वास्थ्य चौकीमा खटिने स्वास्थ्यकर्मीलाई ४० प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।
विश्वभर कोरोना संक्रमणको महामारी फैलिएको अवस्थामा नगरका स्वास्थ्यकर्मीहरु जोखिम मोलेर काममा खटिने गरेकाले उनिहरुको काम गर्ने हौसला बढाउँन प्रोत्साहन भत्ता दिने निर्णय गरेको नगर प्रमुख सिताराम जोशीले बताए । उनले भने,‘अहिले नगरपालिका नगरबासिको स्वास्थ्यको रक्षाका लागि खटिनु पर्ने अवस्था छ । त्यसका लागि आफु जोखिममा रहेर जनस्वास्थ्यको रक्षाका लागि दिनरात खटिने स्वास्थ्यकर्मीको मनोवल उच्च राख्न हौसला स्वरुप प्रोत्साहन भत्ताको व्यवस्था गरेका हौं ।’
नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले नगरपालिकाले व्यवस्था गरेको प्रोत्साहन भत्ताले नगरका स्वास्थ्यकर्मीहरुको मनोवल बढ्ने र जागरुक भएर काममा खटिने विश्वास व्यक्त गरे ।





प्रतिकृया दिनुहोस्