मधेसमा नयाँ सत्ता समीकरण, जसपा नेपालको नेतृत्वमा सरकार बनाउने तयारी

जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकार विस्थापित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित नयाँ सत्ता समीकरण बन्ने भएको छ। तीन दलबीच नयाँ सरकार गठनका लागि सहमति जुटेको र सरकारको नेतृत्व जसपा नेपालले गर्ने गरी गृहकार्य अघि बढेको नेताहरूले बताएका छन्।
नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले तीन दलबीच नयाँ सरकार गठन गर्ने विषयमा सहमति भइसकेको दाबी गरे। उनका अनुसार केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलपछि नयाँ समीकरण बनाउने सहमति भएको हो।
‘तीन दलबीच सरकार बनाउने सहमति करिब–करिब टुंगिएको छ। कुन दलले नेतृत्व गर्ने भन्नेबारे चाँडै निष्कर्ष लाग्नेछ,’ यादवले भने।
स्रोतका अनुसार जसपा नेपालको नेतृत्वमा सरकार गठन हुने सम्भावना बलियो छ। जसपा नेपालका मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउने गरी छलफल अघि बढेको बताइएको छ। यद्यपि, नेतृत्व र मन्त्रालय बाँडफाँटबारे तीनै दलले औपचारिक निर्णय गर्न बाँकी छ।
गत असोज ३० गते एमालेले मधेस प्रदेश सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको कांग्रेस सरकार अल्पमतमा परेको छ। सरकार जोगाउन मुख्यमन्त्री यादवले विभिन्न दलका नेताहरूसँग छलफल र भेटवार्ता तीव्र बनाएका छन्।
कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिन पार्टी सभापति गगनकुमार थापाले समेत केन्द्रमा संवाद अघि बढाएका थिए। उनले नेकपा अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग अलग–अलग भेटवार्ता गरेका थिए। एमालेलाई पुनः सरकारमा फर्काउने प्रयाससमेत भएको थियो।
तर एमाले नेता सरोजकुमार यादवले वर्तमान सरकारलाई पुनः समर्थन गर्ने सम्भावना नरहेको स्पष्ट पारे। उनका अनुसार एमाले, जसपा नेपाल र नेकपाबीच नयाँ समीकरण बनाउने प्रक्रिया अघि बढिसकेको छ।
नयाँ समीकरणमा सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँट तथा अन्य राजनीतिक भागबन्डाबारे छलफल गर्न तीनै दलका शीर्ष नेता र मधेस प्रदेशका नेताबीच काठमाडौंमा थप वार्ता हुने तयारी छ। ‘केन्द्रमा पार्टीका अध्यक्षहरूबीच सहमति जुटिसकेको छ। अब काठमाडौंमा नेताहरूसँग बसेर भागबन्डासहित समीकरणलाई अन्तिम रूप दिने तयारी छ,’ यादवले भने।
तीन दलबीचको सहमति कार्यान्वयन भए मधेसमा कांग्रेस नेतृत्वको वर्तमान सरकार विस्थापित हुनेछ र जसपा नेपालको नेतृत्वमा एमाले तथा नेकपा सम्मिलित नयाँ सरकार बन्नेछ। यद्यपि, नयाँ सरकार गठनको औपचारिक निर्णय, मुख्यमन्त्रीको नाम र मन्त्रालय बाँडफाँट भने अझै टुंगिन बाँकी छ।



प्रतिकृया दिनुहोस्