आजदेखि यू-१९ एसिया कप क्रिकेट सुरु, नेपालले २० कात्तिकमा भारतसँग खेल्ने

काठमाडौं । यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानको अल अमेरातमा सुरु हुँदैछ। प्रतियोगिता २८ कात्तिकसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ। नेपालले समूह चरणको पहिलो खेल २० कात्तिकमा भारतसँग खेल्नेछ। त्यसपछि २२ कात्तिकमा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) र २४ कात्तिकमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन्।
प्रतियोगिताको उद्घाटन दिन आज दुई खेल हुनेछन्। पहिलो खेलमा मलेसिया र श्रीलंका तथा दोस्रो खेलमा अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ११ बजे सुरु हुनेछन्।
नेपालले भने प्रतियोगिताको आफ्नो अभियान भारतविरुद्धको खेलबाट सुरु गर्नेछ। समूह चरणमा एसियाका बलिया टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपालका लागि सुरुवाती चरणमै चुनौतीपूर्ण खेलहरू रहनेछन्।



प्रतिकृया दिनुहोस्