म्याकमुलनको आक्रामक ब्याटिङमा सुदूरपश्चिमको चितवनमाथि ५ विकेटको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।
सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलनले आक्रामक ब्याटिङ गर्दै महत्वपूर्ण योगदान दिए। उनले २१ बलमा ६ चौका र २ छक्कासहित ४३ रन बनाएपछि सुदूरपश्चिमले मध्यम लक्ष्य सहजै पूरा गरेको हो।
लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले पहिलो ओभरमै साइफ जैबलाई २ रनमा गुमाएको थियो। त्यसपछि म्याकमुलन र विनोद भण्डारीले दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गर्दै इनिङ्सलाई गति दिए। भण्डारी ७ बलमा ११ रन बनाएर आउट भए।
म्याकमुलनले इशान पाण्डेसँग तेस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे। छैटौँ ओभरको दोस्रो बलमा म्याकमुलन आउट भए भने त्यसको अर्को बलमै कप्तान दीपेन्द्रसिंह ऐरी पनि खाता नखोली पेभेलियन फर्किए। त्यसपछि सुदूरपश्चिम ७० रनमा ४ विकेट गुमाएको अवस्थामा पुगेको थियो।
तर, इशान पाण्डे र आरिफ शेखले पाँचौँ विकेटका लागि ३३ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाए। इशान २९ बलमा २५ रन बनाएर आउट भए। त्यसपछि आरिफ शेख र शेरफेन रदरफोर्डले अविजित साझेदारी गर्दै सुदूरपश्चिमलाई लक्ष्यसम्म पुर्याए।
आरिफले २६ बलमा अविजित २० रन बनाए भने रदरफोर्डले १५ बलमा २१ रनको योगदान दिए। रदरफोर्डले २ चौका र १ छक्का प्रहार गरे। चितवनका रन्जित कुमारले ४ ओभरमा २८ रन खर्चिएर ३ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। अर्धशतकबाट एक रनले चुकेका उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे।
चितवनले सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमाएको थियो। देव खनाल ७, अर्जुन साउद १५ तथा डेविड मलान १६ रनमा आउट भए। कप्तान सिकन्दर राजा १५ रनमा रोकिँदा विवेक यादवले १७ रन बनाए।
बोपाराले सिकन्दर राजासँग चौथो विकेटका लागि ३२ रनको साझेदारी गरे। त्यसपछि उनले विवेक यादवसँग पाँचौँ विकेटका लागि १९ रन जोडे। बोपारा १८.१ ओभरमा आउट भएपछि चितवनको ठूलो योगफलतर्फ जाने सम्भावना कमजोर बनेको थियो।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान १ विकेट लिए।
यो जितसँगै चार खेलबाट सुदूरपश्चिमले दोस्रो जित हात पारेको छ। यसअघि तीन खेलमा दुई हार बेहोरेको सुदूरपश्चिमले जितसँगै महत्वपूर्ण दुई अंक जोडेको छ। अर्कोतर्फ चितवनको प्रतियोगितामा यो पहिलो हार हो। चितवनले यसअघि दुई खेल जितेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।
चितवनलाई १२९ रनमै रोक्नु र लक्ष्य पछ्याउँदा म्याकमुलनले दिएको आक्रामक सुरुवात सुदूरपश्चिमको जितका मुख्य आधार बने।



प्रतिकृया दिनुहोस्