वर्षाले छोट्याएको खेलमा सुदूरपश्चिममाथि विराटनगरको ३५ रनको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले वर्षाले प्रभावित खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
शनिबार राति कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो। वर्षाका कारण निर्धारित २० ओभरको खेललाई पाँच ओभरमा छोट्याइएको थियो।
दिनभरको वर्षाका कारण मैदानको आउटफिल्डमा पानी जम्दा खेल हुने–नहुने अन्योल थियो। मैदानको अवस्था खराब रहेको भन्दै सुदूरपश्चिमले सुरुमा खेल्नसमेत असहमति जनाएको थियो। लामो छलफलपछि क्यान सचिव पारस खड्कालगायतको पहलमा सुदूरपश्चिम खेल्न तयार भएको थियो। ग्राउन्ड स्टाफको निरन्तर प्रयासपछि मैदान खेल्नयोग्य बनाइएको थियो भने छोटो खेलका लागि बाउन्ड्रीको आकारसमेत केही घटाइएको थियो।
राति ९ बजेर २० मिनेटमा सुरु भएको खेलमा टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमविरुद्ध विराटनगरले आक्रामक सुरुवात गर्यो। विराटनगरले पाँच ओभरमा दुई विकेट गुमाउँदै १०५ रन बनाएको थियो। शेहान जयसूर्याले ११ बलमा दुई चौका र पाँच छक्कासहित ३९ रन बनाए। उनले लोकेश बमसँग पहिलो विकेटका लागि २.४ ओभरमा ६८ रनको साझेदारी गरे।
लोकेश बमले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन जोडे। त्यसपछि आन्द्रे रसेलले १० बलमा दुई चौका र तीन छक्कासहित अविजित २९ रन बनाए। रसेल र लोकेशबीच दोस्रो विकेटका लागि ३७ रनको साझेदारी भयो। सुदूरपश्चिमका अभिनाश बोहराले दुई विकेट लिए।
१०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले सुरुवातमै महत्वपूर्ण दुई विकेट गुमायो। रसेलले पहिलो बलमै शेर्फेन रदरफोर्डलाई बोल्ड गरे। त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरीलाई एन्जेलो म्याथ्युजले रुपेश सिंहको हातबाट क्याच गराए। दीपेन्द्रले एक रन मात्रै बनाउन सके।
सुदूरपश्चिमले पहिलो १.३ ओभरमा सात रन जोड्दा दुई विकेट गुमाइसकेको थियो। सैफ जैबले १० बलमा १७ रन तथा स्कट कुगेलेइनले ६ बलमा एक चौका र चार छक्कासहित अविजित २८ रन बनाए। आरिफ शेखले आठ बलमा १७ रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
विराटनगरका लागि रसेल, रुपेश सिंह र एन्जेलो म्याथ्युजले एक–एक विकेट लिए। रसेलले दुई ओभरमा आठ रन मात्रै खर्चिएर एक विकेट लिए। यस जितसँगै विराटनगरले जारी एनपिएलमा पहिलो जित निकालेको छ। वर्षाका कारण शनिबारको पहिलो खेल लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल भने रद्द भएको थियो।



प्रतिकृया दिनुहोस्