October 19, 2026, Monday
२०८३ कार्तिक ३

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै

काठमाडौँ । बडादसैँअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिँदैछ। नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घरघरमा भक्तजनले चन्द्रघण्टा देवीको उपासना गरिरहेका छन्।

धर्मशास्त्रअनुसार मस्तकमा घण्टीको आकारको अर्धचन्द्र धारण गरेकी हुनाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो। स्वर्णजस्तै चम्किलो वर्ण भएकी देवी चन्द्रघण्टा दश बाहु भएकी र हातमा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प तथा अक्षमाला धारण गरेकी स्वरूपमा वर्णित छन्। उनले वरद र अभय मुद्रा धारण गरेकी हुन्छिन्। सिंहलाई वाहनका रूपमा ग्रहण गर्ने चन्द्रघण्टाको घण्टीको ध्वनिले दानव, दैत्य तथा नकारात्मक शक्तिलाई परास्त गर्ने धार्मिक विश्वास छ।

चन्द्रघण्टालाई शान्ति, कल्याण र शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ। श्रद्धापूर्वक उनको आराधना गर्नाले संकट, दुःख, कष्ट तथा विभिन्न बाधा हट्ने धार्मिक विश्वास छ। देवीको कृपाले आत्मबल र निर्भयता बढ्ने तथा परिवारमा सुख–शान्ति कायम हुने जनविश्वाससमेत रहिआएको छ।

पूजामा चन्द्रघण्टा देवीलाई रातो रङका फूल, फलफूल, पक्वान्न, चन्दन, धूप, दीप, बेलपत्र तथा दूध र दूधजन्य परिकार अर्पण गर्ने परम्परा छ। भक्तजनले स्नान गरी शुद्ध वस्त्र धारण गरेर संकल्पसहित कलश स्थापना गरी ‘ॐ चन्द्रघण्टायै नमः’ मन्त्र जप गर्दै देवीको पूजा गर्ने गर्छन्। पूजाका क्रममा दुर्गा सप्तशतीअन्तर्गत चण्डीको तेस्रो अध्याय पाठ गर्ने तथा देवीका मन्त्र जप, भजन र आरती गर्ने परम्परा पनि छ।

नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका शोभा भगवती, नक्साल भगवती, गुह्येश्वरी मन्दिर, मैतीदेवी मन्दिर, दक्षिणकाली मन्दिर, भद्रकाली मन्दिर र बंगलामुखी मन्दिर लगायतका शक्तिपीठमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ। उपत्यकाबाहिर धरान, भोजपुर, ताप्लेजुङ, गोरखा र दाङलगायतका शक्तिपीठमा पनि नवरात्र अवधिभर भक्तजनले दर्शन तथा पूजाआजा गर्ने गरेका छन्।