October 19, 2026, Monday
२०८३ कार्तिक ३

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना, यस्तो छ धार्मिक महत्व

काठमाडौं । नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल द्वितीयाका दिन दशैं घर तथा पूजा कोठामा ब्रह्मचारिणी देवीको आह्वान गरी शक्ति, ज्ञान र समृद्धिको कामनासहित विधिपूर्वक पूजा गर्ने परम्परा छ। नवरात्र सुरु भएसँगै देशभरका शक्तिपीठमा पनि बिहानैदेखि दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको चहलपहल बढेको छ।

नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन घटस्थापित स्थानमा नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो। आज भने त्यही पूजा स्थलमा ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र तथा मन्त्र पाठ गर्ने गरिन्छ। धार्मिक मान्यताअनुसार नवरात्रमा देवीको श्रद्धापूर्वक आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास छ।

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्ने गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद तथा जमरा ग्रहण गर्ने परम्परा छ।

नवरात्र सुरु भएसँगै देशभरका विभिन्न शक्तिपीठमा भक्तजनको चहलपहलसमेत बढेको छ। पहिलो दिनदेखि नै शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्न थालेको हो। आज दोस्रो दिन पनि विभिन्न शक्तिपीठमा बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।