October 11, 2026, Sunday
२०८३ आश्विन २६

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीमा १,३३० मत गणना हुँदा कसको कति ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन् भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार १ हजार ३३० मत गणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी ६७९ मतसहित अग्रस्थानमा छन्। मधु आचार्यले ३९३, गोविन्द भट्टराईले ३४५ र सुरेन्द्रराज पाण्डेले ३३७ मत पाएका छन्। दीपक गिरीले २६४, धनराज गुरुङले २४० र चन्द्रमोहन यादवले १३८ मत प्राप्त गरेका छन्।

समावेशी उपसभापतिमा विनोदकुमार चौधरी ३८२ मतसहित अगाडि छन्। जीवन परियारले ३३०, फरमुल्लाह मंसुरले १९०, सीता गुरुङले १७० र रञ्जित कर्णले १०७ मत पाएका छन्।

खुला महामन्त्रीतर्फ प्रदीप पौडेल ७८८ मतसहित पहिलो स्थानमा छन्। अमरसिंह पुन मगरले ४७८, उदयशमशेर राणाले ४५६, डा. सुनिलकुमार शर्माले ३२५, गुरुराज घिमिरेले १९७, नैनसिंह महरले १४८, शंकर तिवारीले २० र डा. सन्तोष उपाध्यायले १८ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला ५८३ मतसहित अगाडि छन्। महालक्ष्मी उपाध्याय ‘डिना’ले ५५७ र रीता खनालले १५३ मत पाएकी छन्।

उपसभापति खुलातर्फ दुई, समावेशीतर्फ एक तथा महामन्त्री खुलातर्फ दुई र महिलातर्फ एक पदका लागि मतगणना भइरहेको छ।