कांग्रेस महाधिवेशन : तयारी नपुगेपछि मतदान दिउँसो १ बजेसम्म सर्यो

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने मतदानको समय फेरि सरेको छ। बिहान १० बजेदेखि मतदान सुरु गर्ने तयारी भए पनि निर्वाचनको तयारी पूरा नभएको भन्दै मतदान दिउँसो १ बजेसम्मका लागि सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।
महाधिवेशनको पाँचौँ दिन आज नयाँ नेतृत्व चयनका लागि मतदान हुने कार्यक्रम छ। मतदानका लागि देशभरबाट आएका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।
सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।
निर्वाचन समितिले मतदानका लागि विभिन्न मतदान केन्द्रको व्यवस्था गरेको छ। प्रतिनिधिहरूलाई तोकिएको मतदान केन्द्रबाट मतदान गराउने तयारी गरिएको छ।
तीन स्थानमा मतदानको व्यवस्था
मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।
निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ ।
राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ ।
प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।
त्यसैगरी खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् ।
भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
मतदान सकिएपछि मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ। मतदानको समय पुनः सारिएपछि निर्वाचन कार्यतालिकासमेत प्रभावित हुने भएको छ।



प्रतिकृया दिनुहोस्