October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

कांग्रेस महाधिवेशन : बिहान १० बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले नेतृत्व छान्दै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।

यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि भारी वर्षा र केही प्राविधिक कारणले मतदानको समय तीन घण्टा पछि सारिएको निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनका ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदानका लागि प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।

कहाँबाट कसले मतदान गर्ने ?

राष्ट्रिय सभा गृह–मतदान केन्द्र ‘क’

  • बागमती प्रदेशका प्रतिनिधि

खुलामञ्च–मतदान केन्द्र ‘ख’

  • कोशी प्रदेश तथा तराई–मधेश समूहका प्रतिनिधि

हिमाली हल

  • गण्डकी प्रदेशका प्रतिनिधि

तराई–मधेश हल

  • मधेश प्रदेशका प्रतिनिधि

पहाड हल

  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • नेपाली जनसम्पर्क समिति
  • भ्रातृ संस्थातर्फका प्रतिनिधि

निर्वाचन समितिले प्रतिनिधिहरूलाई आफूलाई तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदानस्थलमा प्रवेश गर्नुअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ।

निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। प्रतिनिधिले तोकिएको प्रक्रिया पूरा गरेपछि मात्रै मतदान गर्न पाउनेछन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया यसअघि नै पूरा भइसकेको छ। निर्वाचन समितिले बुधबार साँझ उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।

कांग्रेसले १५औँ महाधिवेशनबाट विधान संशोधन गर्दै केन्द्रीय कार्यसमितिको आकार २९७ सदस्यीय बनाएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ।