October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

कांग्रेसमा पदाधिकारीको संख्या बढाउने, संसदीय दलका नेता आङ्देम्बेले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। महाधिवेशनले विधान संशोधन गरेर उपसभापतिको संख्या बढाए आङ्देम्बेले उम्मेदवारी दिने भएका हुन्।

कांग्रेसले विधान संशोधनमार्फत उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ। पार्टीमा नेतृत्वका आकांक्षीको व्यवस्थापन तथा विभिन्न समूह र समुदायलाई समेट्ने उद्देश्यले पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव अघि बढाइएको नेताहरूले बताएका छन्।

हाल कांग्रेसको विधानमा दुई जना उपसभापतिको व्यवस्था छ। प्रस्तावित संशोधनमा उपसभापतिको संख्या तीन पुर्‍याउने तयारी छ। त्यसमध्ये एक पद महिलाका लागि सुरक्षित गर्ने तथा एक जनालाई वरिष्ठ उपसभापति बनाउने प्रस्तावमाथि छलफल भइरहेको छ। वरिष्ठ उपसभापतिको पद कांग्रेसको विद्यमान विधानमा छैन।

महामन्त्रीको संख्या भने दुई नै कायम राख्ने तयारी छ। सहमहामन्त्रीको संख्या थप गर्नुका साथै समावेशी क्लस्टरसँगै खुलातर्फबाट पनि सहमहामन्त्री निर्वाचित हुने व्यवस्था थप्नेबारे छलफल भइरहेको पार्टीका नेताहरूले बताएका छन्।

हाल कांग्रेसमा जनजाति, मधेसी, थारू, मुस्लिम, महिला, खस–आर्य, पिछडिएको क्षेत्र र दलित गरी आठ क्लस्टरबाट सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। प्रस्तावित संशोधनमा यी समावेशी समूहसँगै खुलातर्फ पनि सहमहामन्त्रीका लागि प्रतिस्पर्धा हुने व्यवस्था राख्ने तयारी छ।

कांग्रेसले केन्द्रीय सदस्यको संख्या पनि बढाउने तयारी गरेको छ। हाल विधानमा २३१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ। खुलातर्फका ३५ केन्द्रीय सदस्यको संख्या बढाउने विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन्। यद्यपि कति संख्या थप गर्ने भन्ने टुंगो लागिसकेको छैन।

महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन मस्यौदा समितिले यसअघि २३१ सदस्यीय केन्द्रीय समितिमध्ये ६१ जना सभापतिले मनोनीत गर्ने प्रस्ताव तयार गरेको थियो। अब वरिष्ठ उपसभापति, थप सहमहामन्त्री तथा केन्द्रीय सदस्यसमेत थपिने भएपछि केन्द्रीय समितिको कुल आकार अझ बढ्ने भएको छ।

३५ वर्षमुनिबाट २१ जना, पेशागत तथा बुद्धिजीवी क्षेत्रबाट सात जना र जनसम्पर्क समितिबाट छ जना चयन हुने व्यवस्थामा भने तत्काल संशोधन नहुने बताइएको छ।

आङ्देम्बे १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा समूहबाट सहमहामन्त्री निर्वाचित भएका थिए। विशेष महाधिवेशनपछि उनले देउवा समूह छाडेर संस्थापन पक्षतर्फ लागेका थिए। अहिले उनी कांग्रेस संसदीय दलका नेता छन्।

विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रस्ताव पार्टीको केन्द्रीय समितिमा पेस हुनेछ। केन्द्रीय समितिले अनुमोदन गरेपछि महाधिवेशनको हलबाट पारित गरिनेछ। महामन्त्री प्रदीप पौडेल संयोजक रहेको समितिमा जीवन परियार, ईश्वरी न्यौपाने र राजीव ढुंगाना सदस्य तथा प्रताप पौडेल सदस्यसचिव छन्।