October 29, 2026, Thursday
२०८३ कार्तिक १३

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन : सोमबार राष्ट्रिय सभा गृहमा मनोनयन दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ।

निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा तोकिएको समयभित्र केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिले मनोनयनपत्र दर्ता गर्न सक्ने उल्लेख छ।

केन्द्रीय कार्यसमितिको निर्वाचनसँग सम्बन्धित अन्य विस्तृत कार्यक्रम भने पछि सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। मनोनयन दर्ताको मिति तय भएसँगै सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ।

यसैबीच, कांग्रेसको विधान संशोधनका लागि केन्द्रीय कार्यसमितिको आकार, पदाधिकारीको संख्या तथा खुला केन्द्रीय सदस्यको संख्या बढाउनुपर्ने सुझाव आएको छ। विधान संशोधन मस्यौदा समितिले पार्टीका विभिन्न संरचना तथा भ्रातृ संस्थाबाट प्राप्त सुझाव एकीकृत गर्ने काम गरिरहेको जनाएको छ।

मस्यौदा समितिका सदस्य–सचिव प्रताप पौडेलका अनुसार प्राप्त सुझावमाथि समितिको बैठकमा छलफल गरी विधान संशोधनको मस्यौदा पार्टीमा पेस गरिनेछ। पदाधिकारीमा महिला सहभागिता बढाउनुपर्ने र उपसभापतिमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था विधानमै गर्नुपर्ने सुझावसमेत आएको छ।

हाल कांग्रेसको विधानमा दुई जना उपसभापतिको व्यवस्था छ। सहमहामन्त्रीभन्दा माथिका पदमा भने महिलाका लागि छुट्टै कोटा तोकिएको छैन।

त्यस्तै, सहमहामन्त्री पदमा समावेशी समूहका लागि मात्रै नभई खुला प्रतिस्पर्धाको समेत व्यवस्था गर्नुपर्ने सुझाव आएको छ। हाल ११ जना सहमहामन्त्रीमध्ये आठ जना समावेशी आधारमा निर्वाचित हुने र तीन जना सभापतिले मनोनयन गर्न सक्ने व्यवस्था छ। निर्वाचित सहमहामन्त्रीमा महिला, जनजाति, खस–आर्य, दलित, मधेसी, थारू र पिछडिएको क्षेत्रलगायतका समूहका लागि व्यवस्था गरिएको छ।

खुला केन्द्रीय सदस्यको संख्या बढाउनुपर्ने सुझावसमेत विधान मस्यौदा समितिमा पुगेको छ। हाल विधानमा ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।

मस्यौदा समितिका सदस्य–सचिव पौडेलले विभिन्न पक्षबाट सुझाव प्राप्त भएको र समितिमा छलफल गरी पार्टीमा पेस गरिने बताए। उनका अनुसार समितिले प्राप्त सुझावलाई समेटेर संशोधनको मस्यौदा तयार गरिरहेको छ।

विधान मस्यौदा समितिले तयार पारेको प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि महाधिवेशनको हलमा छलफल तथा पारितका लागि पेस गरिनेछ।

प्रस्तावित संशोधनअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३१ सदस्यीय हुने व्यवस्था गरिएको छ। पदाधिकारीको संख्या १७ सदस्यीय बनाउने प्रस्ताव छ। त्यस्तै, ६१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने तथा ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य रहने व्यवस्था प्रस्ताव गरिएको छ।