October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

‘देउवा संस्थापन पक्षको महाधिवेशन उद्घाटनमा आउँदैछन्’ भन्ने प्रचार झूटो हो : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले आयोजना गरेको १५औँ महाधिवेशन उद्घाटन गर्ने कुनै सम्भावना नरहेको बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते काठमाडौंमा उद्घाटन हुँदैछ। सभापति गगन थापासहित संस्थापन पक्षका नेताहरूले सहमतिको वातावरण बनाउन देउवालाई महाधिवेशन उद्घाटनका लागि निमन्त्रणा गर्ने प्रयास जारी राख्ने बताइरहेका बेला महतले देउवा कार्यक्रममा सहभागी हुने विषयमा भइरहेको प्रचारलाई अस्वीकार गरेका हुन्।

पोखरा पुगेका महतले देउवा महाधिवेशन उद्घाटनमा सहभागी हुने भनेर गलत प्रचार भइरहेको दाबी गरे। ‘शेरबहादुर देउवा नै महाधिवेशन उद्घाटन कार्यक्रममा आउँदै हुनुहुन्छ भनेर झूटको प्रचार गरिँदै छ। विशेष अधिवेशनबाट आएका पदाधिकारी साथीहरू यस्तो झूट कुरा भन्न हिचकिचाउनुहुन्न,’ उनले भने।

देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति आफू भएकाले १५औँ महाधिवेशन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्ने कुरा स्पष्ट रूपमा बताइसकेको महतको भनाइ छ। उनले असोज १७ गतेदेखि सुरु हुने वडा अधिवेशन नै कांग्रेसको आधिकारिक महाधिवेशन प्रक्रियाअन्तर्गतको अधिवेशन भएको दाबी गरे।

महतले १५औँ महाधिवेशन निष्पक्ष, पारदर्शी र सबै पक्षको सम्मानजनक सहभागितासहित सम्पन्न हुने सुनिश्चितता खोज्दा सभापति गगन थापाले त्यसलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए।

‘अरू केही चाहिएन, अहिले जे भयो भयो। तर १५औँ अधिवेशनबाट आउने नेतृत्व निष्पक्ष, पारदर्शी ढङ्गबाट सबैको सम्मानजनक सहभागिता हुनुपर्छ भन्ने कुरालाई उहाँहरूले कुनै गम्भीरताका साथ दिनुभएन। त्यसैले हामी अदालतमा पुनरावेदनको लागि गयौँ,’ उनले भने।

यसअघिको फैसला त्रुटिपूर्ण भएकै कारण सर्वोच्च अदालतले आफूहरूको पुनरावेदनमा निस्सा दिएको महतले दाबी गरे। उनले आफूहरू ‘सत्यको पक्षमा’ उभिएको भन्दै अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे।

‘हामी एउटा सत्यको पक्षमा उभिएका छौँ। सत्यको अवश्य पनि जित हुन्छ। अदालतले त्रुटिपूर्ण छ भनिसकेको छ। नेपालमा अझै पनि न्याय मरेको छैन भन्ने हाम्रो विश्वास छ। न्याय पाउँछौँ। त्यो न्याय पाइएन भने त न्याय नै मरिसकेछ भन्ने हुन्छ,’ महतले भने।