कांग्रेस महामन्त्री बन्ने तयारीमा नैनसिंह महर, नेता-कार्यकर्ता भेट्न जिल्ला दौडाहामा

धनगढी । काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी तीव्र बनाएका छन्। उम्मेदवारीको तयारीसँगै उनले प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्तासँगको भेटघाट र छलफललाई बढाएका छन्।
गृहजिल्ला डडेल्धुरा कांग्रेसले उनलाई महामन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सर्वसम्मत निर्णय गरेपछि महरले जिल्ला दौडाहालाई तीव्रता दिएका हुन्।
मंगलबारसम्म उनले धनगढी र कञ्चनपुरसँगै बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर र चितवनका कांग्रेस नेता तथा कार्यकर्तासँग भेटघाट गरिसकेका छन्। अब हेटौँडा पुगेर पार्टीका नेता–कार्यकर्तासँग छलफल गर्ने तयारीमा उनी छन्।
कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि विभिन्न तहमा निर्वाचन भइरहेका बेला महरले त्यसै अवसरलाई राजनीतिक भेटघाट विस्तारका रूपमा उपयोग गरेका छन्।
महरले कांग्रेसलाई समयसापेक्ष र प्रभावशाली पार्टीका रूपमा अघि बढाउने एजेन्डासहित महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन्। नेपाल विद्यार्थी संघको अध्यक्षका रूपमा काम गरेको र करिब दुई दशक विद्यार्थी राजनीतिमा बिताएको अनुभवले विभिन्न पुस्तालाई जोडेर पार्टीलाई अघि बढाउन आफू सक्षम रहेको उनको दाबी छ।
‘१५औँ महाधिवेशनलाई कसको नेतृत्व बनाउने भन्नेमा मात्र सीमित नराखी कस्तो कांग्रेस, कस्तो सङ्गठन र कस्तो नेपाल बनाउने तथा विश्व मञ्चमा नेपाललाई कहाँ पुर्याउने भन्ने बहसमा केन्द्रित गराउनुपर्छ,’ महरले भने, ‘पुरानो पुस्ताको अनुभव, संस्कार र संस्थाको अपेक्षालाई जोड्दै जिम्मेवारीपूर्वक जवाफ दिने कांग्रेस बनाउने अभिभारा हाम्रो काँधमा आएको छ, र म त्यो अभिभारा बोक्न पूर्ण रूपमा तयार छु।’
उनले नेतृत्व चयनसँगै समावेशिताका साथ कांग्रेसलाई रूपान्तरण गर्ने संकल्प गर्न पनि पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।
कांग्रेसमा गुट–उपगुट निर्माणभन्दा नेतृत्व चयनका लागि स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको महरको धारणा छ। पार्टीलाई नयाँ पुस्तासहित अघि बढाउनुपर्नेमा उनले जोड दिँदै आएका छन्।
राजनीतिशास्त्रमा एमफिल गरेका महर हाल पीएचडी अध्ययनरत छन्। शेरबहादुर देउवा सभापति रहेका बेला उनले कांग्रेसको केन्द्रीय शिक्षा विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए। उनी ‘स्कुल अफ डेमोक्रेसी’का संस्थापकसमेत हुन्।
महर नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका संस्थापक सभापति पनि हुन्। उनका ‘शिक्षाका चुनौतीहरू’, ‘नेपाली कांग्रेस र भ्रातृ संगठन’, ‘अबको कांग्रेस’, ‘संकल्प’ र ‘काण्डैकाण्ड–महाकाण्ड’ लगायतका पुस्तक प्रकाशित छन्।
महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा महामन्त्रीका आकांक्षीहरूले प्रदेश तथा जिल्ला तहमा भेटघाट र आन्तरिक छलफललाई तीव्र बनाएका छन्। महरको जिल्ला दौडाहा पनि आफ्नो उम्मेदवारीका लागि नेता–कार्यकर्तासँग समर्थन र संवाद विस्तार गर्ने अभियानका रूपमा अघि बढेको छ।



प्रतिकृया दिनुहोस्