October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

पुरानो मुद्दाले तान्यो हर्क साम्पाङलाई विवादमा, अदालतको फैसला भाइरल भएपछि दिए प्रष्टीकरण

विराटनगर । श्रम-संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङमाथि उनकी जेठी श्रीमती दिलमाया राईले दायर गरेको घरेलु हिंसा तथा अंशसम्बन्धी पुरानो मुद्दाको फैसला सामाजिक सञ्जालमा भाइरल बनेपछि साम्पाङले सार्वजनिक रूपमा प्रष्टीकरण दिएका छन्।

राजनीतिक रूपमा आफ्नो प्रभाव विस्तार गरिरहेका साम्पाङलाई व्यक्तिगत जीवनसँग जोडिएको पुरानो अदालतको फैसलाले प्रश्नको घेरामा तानेपछि उनले आफू जेठी श्रीमतीसँग कानुनीरूपमै अलग भइसकेको दाबी गरेका हुन्।

सुनसरी जिल्ला अदालतमा दिलमायाले २०७३ असोज ६ गते दायर गरेको मुद्दामा आफूलाई पति हर्कराज साम्पाङले कुटपिट गरी घरबाट निकाला गरेको तथा परस्त्रीसँग सम्बन्ध राखेको आरोप लगाएकी थिइन्। सो मुद्दामा न्यायाधीश मणिराम न्यौपानेको इजलासले २०७६ असार १२ गते फैसला गरेको थियो। अहिले त्यही फैसलाको विवरण सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

अदालतको फैसलाले भने सगोलको सम्पत्तिमा पाँच अंशियार कायम गर्दै दिलमायालाई अंश दिनुपर्ने ठहर गरेको थियो। अदालतले हर्क साम्पाङ, उनका दाजु आशयकुमार राई र एकराज राई, आमा जसमाया राई तथा धनकुमारी राईलाई पाँच अंशियार मानेको थियो। हर्कको भागमा पर्ने सम्पत्तिसमेत उनी, दिलमाया र छोरी एलिसाबीच तीन भाग लगाई दिलमायालाई एक भाग अंश दिनुपर्ने फैसला गरिएको थियो।

फिरादपत्रमा दिलमायाले वैवाहिक जीवनदेखि नै पति हर्कराजसँग विवाद र कुटपिट हुने गरेको दाबी गरेकी थिइन्। हर्क वैदेशिक रोजगारीमा गएर फर्किएपछि पनि आफूलाई हिंसा गरेको र प्रहरीमा उजुरी गरेपछि घरबाट निकालिएको उनको आरोप थियो। उनले हर्कराजले आफूलाई घरमा बस्न तथा खान–लाउनसमेत नदिएको दाबी अदालतमा गरेकी थिइन्।

तर, अहिले साम्पाङले ती आरोप अस्वीकार गरेका छन्। उनले आफूले जेठी श्रीमतीमाथि घरेलु हिंसा नगरेको दाबी गर्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको फैसला र दिलमायाका आरोपलाई ‘मिथ्या’ बताएका छन्। उनका अनुसार यो विषय अहिले उठाइएजस्तो हालसालैको घटना नभई दुई दशकभन्दा पुरानो पारिवारिक विवाद हो।

कन्टेन्ट क्रिएटरहरूसँगको कुराकानीमा साम्पाङले आफू प्रश्नबाट नभाग्ने बताएका छन्। उनले जेठी श्रीमतीसँग लामो समयको सम्बन्धपछि आफूहरू कानुनीरूपमा अलग भएको दाबी गर्दै भनेका छन्, ‘मैले १२ वर्ष पर्खँदा पनि डिभोर्स नै गर्न चाहेकाले उहाँको इच्छा अनुसार नै छुट्टिएका हौँ। यो आजभन्दा करिब २० देखि २५ वर्ष अघिको कुरा हो।’

साम्पाङले लामो समयपछि पुनः मिलनको प्रस्ताव राख्दा दिलमायाले अस्वीकार गरेको र त्यसपछि मुद्दाहरू दायर भएको दाबी गरेका छन्। छोरीको पालनपोषण नगरेको भन्ने प्रश्नमा पनि उनले आफूले छोरीलाई पढाएको र विवाह नभएसम्म आफूसँगै राखेर हुर्काएको प्रष्टीकरण दिएका छन्।

पुरानो पारिवारिक विवाद र अदालतको फैसलाको विषय अहिले सार्वजनिक बहसमा आएपछि साम्पाङमाथि व्यक्तिगत जीवनसँग जोडिएका प्रश्नसँगै राजनीतिक रूपमा पनि दबाब बढेको देखिएको छ।

यद्यपि, अदालतको फैसलामा उल्लेख भएका तथ्य र साम्पाङले अहिले सार्वजनिक रूपमा गरेका दाबीबीचको फरक पक्षबारे सम्बन्धित अभिलेख तथा दुवै पक्षका थप धारणा सार्वजनिक हुन बाँकी छन्।