देउवा पक्षले सार्वजनिक गर्यो ७ लाख ८३ हजार क्रियाशील सदस्यको विवरण, असोज १५ मा वडा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनका लागि ७ लाख ८३ हजार ८३६ जना क्रियाशील सदस्य कायम गरेको जनाएको छ।
देउवा पक्षका अनुसार नवीकरणबाट ५ लाख ७३ हजार २६९ र नयाँ सदस्यताबाट २ लाख १० हजार ५६८ जना क्रियाशील सदस्य कायम भएका छन्।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन तयारी समिति गठन गरेको देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ।
सदस्यता व्यवस्थापन समिति संयोजक किरणराज शर्मा पौडेलले क्रियाशील सदस्यताको विवरण निर्वाचन समिति संयोजक एगराज पोख्रेललाई बुझाइसकेका छन्। पोख्रेलले शनिबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा क्रियाशील सदस्यताको सूची प्राप्त भइसकेको र असोज १५ गते वडा अधिवेशन गरिने जानकारी दिए।
तर, देउवा पक्षसँग कांग्रेसको पछिल्लो अद्यावधिक क्रियाशील सदस्यताको पूर्ण सूची नरहेको देखिएको छ। त्यसैले गत वर्ष पुसभित्र नवीकरण भएका तथा नयाँ वितरण गरिएका सदस्यलाई आधार बनाएर क्रियाशील सदस्य कायम गरिएको बताइएको छ।
देउवा पक्षले भने अब अनलाइनमार्फत समेत क्रियाशील सदस्यताका लागि आवेदन दिन सकिने व्यवस्था गरेको जनाएको छ। त्यसका लागि छुट्टै वेबसाइटसमेत तयार गरिएको छ।
सम्मेलनमा वेबसाइट विकासकर्ता ज्ञानेन्द्र भट्टले अत्यन्त छोटो समय चार दिनमै निर्माण गरिएको वेबसाइटमा उच्चस्तरको साइबर सुरक्षा व्यवस्था गरिएको बताए। हाल वेबसाइट नयाँ सदस्यताका लागि लक्षित भए पनि भविष्यमा यसलाई थप व्यवस्थित गर्दै लगिने जनाइएको छ।
यसैबीच, गगन थापा नेतृत्वको कांग्रेससँग भने अद्यावधिक विवरणसहित ८ लाख ७० हजारभन्दा बढी क्रियाशील सदस्य रहेको जनाएको छ। थापा नेतृत्वको कांग्रेसले वडा र पालिका अधिवेशन सम्पन्न गर्दै क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढाइरहेको छ।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र देउवा पक्षबीच समानान्तर संगठनात्मक प्रक्रिया अघि बढेको छ।



प्रतिकृया दिनुहोस्