भारी वर्षा आज रातिदेखि घट्ने, सोमबारदेखि मौसममा सुधार

काठमाडौं । देशका विभिन्न भाग, विशेषगरी मध्य भूभागमा भइरहेको भारी वर्षा आज रातिदेखि क्रमशः घट्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारदेखि भने देशभर मौसममा उल्लेख्य सुधार आउनेछ।
भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणाली तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पछिल्लो समय नेपालका विभिन्न भूभागमा भारी वर्षा भएको विभागले जनाएको छ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा बागमतीको मकवानपुर र चितवन, गण्डकीको म्याग्दी, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्व तथा लुम्बिनीको पाल्पा र नवलपरासी पश्चिमका केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। कास्की, लमजुङ, बागलुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र सर्लाहीलगायत जिल्लामा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।
मौसमी प्रणाली कमजोर बन्दै गए पनि आइतबार दिउँसो पहाडी तथा तराईका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
निरन्तरको वर्षाले जमिन गलिसकेको, नदी तथा खोलामा जलसतह बढेको र पहिरोको जोखिम उच्च रहेकाले प्रभावित मध्य भूभागमा विभागले ‘रातो’ रङको उच्च सतर्कता (प्रतिकार्य) चेतावनी जारी गरेको छ।
आज रातिदेखि भने भारी वर्षाको सम्भावना नरहेको मौसमविद् अधिकारीले बताएका छन्। राति कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मात्र मध्यम वर्षा हुने पूर्वानुमान छ।
सोमबारदेखि देशभर मौसम क्रमशः सफा हुँदै जाने विभागले जनाएको छ। सोमबारका लागि कुनै मौसमी जोखिम नरहेको भन्दै विभागले ‘हरियो’ सङ्केत जारी गरेको छ। तराईमा घाम लाग्ने तथा पहाडी भूभागमा आंशिक बदली रहने भएकाले मौसम सामान्य बन्दै जाने विभागको पूर्वानुमान छ।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले आइतबार देशभरका नदी तथा खोलामा पानीको बहाव उच्च रहने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकाका तीनै जिल्लासहित उपत्यकाबाहिरका उपत्यका, मधेस र पहाडी भेगका ३४ भन्दा बढी जिल्लाबाट बहने साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम छ। गण्डकी र लुम्बिनीका अधिकांश जिल्ला तथा बागमतीका केही जिल्लासहित १७ जिल्लाका साना नदीमा भने आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
गण्डकीका लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ र स्याङ्जा तथा लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासी पूर्व–पश्चिम, पाल्पा, गुल्मी र चितवनका साना नदीमा बाढीको जोखिम उच्च रहेकाले विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यस्तै, कोशी, नारायणी र तिनका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। नारायणीका बुढीगण्डकी, मर्स्याङ्दी, सेती, माडी, बडिगाड र कालीगण्डकीमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।



प्रतिकृया दिनुहोस्