October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

संसद्मै रोइन् जेनजी शहीदकी आमा, ज्ञानेन्द्रले भने- ‘आमाको आँसु पुछ्न नसक्ने सरकार किन कुर्सीमा ?’

काठमाडौं । जेनजी आन्दोलनमा छोरा गुमाएकी रास्वपा सांसद रचना खतिवडा प्रतिनिधिसभामै भावुक हुँदै रोएकी छन्। आफूले छोराको बलिदानसँग सांसद पद साटेको भन्ने दुर्गा प्रसाईँको आरोपको प्रतिवाद गर्दै उनले आफ्नो राजनीतिक यात्रामाथि प्रश्न उठाउनेहरूप्रति तीव्र आक्रोश व्यक्त गरेकी हुन्।

संसद्मा बोल्दै खतिवडाले आफू व्यक्तिगत स्वार्थ वा पदका लागि नभई जेनजी आन्दोलनमा भएको बलिदानलाई न्याय दिलाउन र सरकारलाई खबरदारी गर्न संसद्मा आएको बताइन्। उनले जेनजी शहीदहरूले पूर्ण न्याय पाए आफू एक सेकेन्ड पनि नसोची सांसद पदबाट राजीनामा दिने घोषणा गरिन्।

‘जुन दिन जेनजी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउँछन्, त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुने छैन,’ उनले भनिन्।

आफ्नो छोराको मृत्युको पीडामाथि राजनीतिक टिप्पणी गरिएको भन्दै उनले प्रसाईँको ‘छोराको लाससँग सांसद पद साटेको’ आरोपप्रति आपत्ति जनाइन्। ‘आज पनि कसैले मेरो छोरा जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु,’ उनले भावुक हुँदै भनिन्।

खतिवडाले आफू मेडिकल माफिया बन्न वा व्यक्तिगत लाभ लिन राजनीतिमा नआएको बताउँदै शहीद परिवारको पीडामाथि टिप्पणी गर्नुअघि संवेदनशील हुन आग्रह गरिन्।

खतिवडा संसद्मा भावुक भइरहेका बेला राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले यही प्रसंगलाई समात्दै सरकारमाथि प्रश्न उठाए। उनले जेनजी आन्दोलनका दोषीमाथि कारबाही गर्न सरकार असफल भएको आरोप लगाउँदै शहीद परिवारको आँसु पुछ्न नसक्ने सरकारलाई सत्तामा बसिरहने अधिकारमाथि प्रश्न गरे।

‘जेनजी आन्दोलनकी शहीदकी आमा अहिले रुनुभयो। तपाईँले सरकार चलाएको ६ महिना भयो। राष्ट्रिय मानव अधिकार आयोगले प्रतिवेदन बुझाइसकेको छ। को–को दोषी हुन् भनेर प्रमाणपत्र बुझाएको ६ महिना भयो। अपराधीलाई आजसम्म किन पक्रिनुभएको छैन?’ शाहीले प्रश्न गरे।

उनले दोषीमाथि कारबाही गर्न नसके सरकारको नेतृत्वले सत्ताको कुर्सी छाड्नुपर्ने धारणा राखे। ‘यदि पक्रिन सक्नुहुन्न भने सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ? ती आमाको आँखाको आँसु पुछ्नुस्,’ उनले भने।

शाहीले जेनजी आन्दोलनका दोषी सत्तापक्ष वा प्रतिपक्ष जुनसुकै पक्षका भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। ‘संसद्मा एक जना सांसद रुँदै गर्दा कुर्सीमा तपाईँहरू कसरी बस्न सक्नुहुन्छ? पक्राउ गर्नुस्,’ उनले सरकारलाई चुनौती दिए।