October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

जेनजी आन्दोलनपछि आशा जागेन, देश अनिश्चितताको सुरुङमा छ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनपछि जनतामा आशा जाग्ने गरी मुलुक अघि बढ्न नसकेको बताएका छन्। आन्दोलन जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनताको आकांक्षा पूरा हुने वातावरण बन्न नसकेको भन्दै उनले देश थप राजनीतिक अनिश्चितताको दिशातर्फ धकेलिएको टिप्पणी गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा लिङ्देनले विद्रोहपछि जनताले अपेक्षा गरेको परिवर्तनको अनुभूति गर्न नपाएको बताए। बरु राजनीतिक तरलता र मुलुकको भविष्यप्रतिको अनिश्चय थप गहिरिँदै गएको उनको दाबी थियो।

उनले भने, “जुन विद्रोह भएको थियो, जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनतामा आशा जाग्ने काम हुन सकेको छैन। जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अगाडि बढ्न सकेको देखिँदैन। बरु देश आशाको सट्टा अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको अवस्था छ।”

लिङ्देनले लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसकेको भन्दै अब सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताए। राजादेखि राजनीतिक दलसम्मलाई समेटेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

देशले लामो द्वन्द्व र पछिल्लो जेनजी विद्रोहबाट ठूलो क्षति व्यहोरिसकेको उल्लेख गर्दै उनले अब थप द्वन्द्व र विद्रोह धान्न सक्ने अवस्थामा मुलुक नरहेको बताए।

“निषेधको राजनीति देशमा लामो समयसम्म चल्यो। कुनै बेला राजाले राजनीतिक दललाई निषेध गरे होला, कुनै समय राजनीतिक दलहरूले राजालाई निषेध गरे होला। तर निषेधको राजनीतिले देशलाई कहाँ पुर्‍यायो, हामी सबैलाई थाहा छ,” उनले भने।

अब निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमतिको माध्यमबाट शान्ति, स्थिरता र विकासको बाटोमा अघि बढ्नुपर्नेमा उनले जोड दिए। आगामी ५ देखि १० वर्षभित्र नेपाललाई विकसित मुलुकको दाँजोमा पुर्‍याउने लक्ष्यसहित सबै राजनीतिक दल र शक्तिहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ।

राष्ट्रिय एकता र सहमतिको पक्षमा राप्रपाले निरन्तर आवाज उठाउँदै आएको दाबी गर्दै लिङ्देनले त्यसलाई विश्वसनीय बनाउन पार्टीभित्रै सुधार र एकता आवश्यक रहेको बताए। आफूदेखि पार्टीका तल्लो तहसम्मका नेता–कार्यकर्ताले कमजोरी सच्याएर नयाँ ढंगले अघि बढ्नुपर्ने उनको भनाइ थियो।