October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

अटवारीले सामाजिक एकता र सद्भाव थप सुदृढ गर्ने मुख्यमन्त्री भट्टको विश्वास

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व अटवारीले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन्।

अटवारी पर्वका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले पर्वले थारू समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन्।

‘थारू समुदायले परम्परागत रूपमा मनाउँदै आएको पवित्र एवं महत्वपूर्ण अटवारी पर्वको सुखद अवसरमा थारू समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ।

अटवारी पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्लामा थारू समुदायले धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाउँदै आएको छ।

परम्पराअनुसार अटवारी भदौ महिनामा कृष्ण जन्माष्टमीपछिको आइतबार मनाइन्छ। कतिपय क्षेत्रमा भने कुशेऔँसीपछिको पहिलो आइतबारलाई अटवारीका रूपमा विशेष महत्वका साथ मनाउने गरिन्छ।