October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै, महाधिवेशन र आन्तरिक एकताका बिषयमा छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। पार्टीको १५औँ महाधिवेशनको तयारी, आन्तरिक सहमति र महाधिवेशनसम्बन्धी विभिन्न विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिलाई पनि अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

पार्टी सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष महाधिवेशनमा सहभागी हुन सकारात्मक देखिएपछि कार्यसम्पादन समिति बैठक बोलाएका हुन्। कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ।

खड्का पक्षले पार्टीभित्र बृहत् एकताका लागि विभिन्न माग अघि सारेको छ। अध्यावधिक नगरेका क्रियाशील सदस्यलाई समेत महाधिवेशनमा सहभागी गराउने विषयमा यसअघि नै निर्णय भइसकेको छ। त्यस्तै, खड्का पक्षले सहमतिका लागि शेखर कोइरालासहित १११ जना नेताहरूलाई वर्तमान केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने प्रस्तावसमेत अघि सारेको थियो।

महाधिवेशनअघि पार्टीभित्र बृहत् एकता कायम गर्न उक्त प्रस्तावमा संस्थापन पक्ष सकारात्मक देखिएको कांग्रेसका एक पदाधिकारीले बताएका छन्। खड्कानिकट ३१ जना नेताले पनि शुक्रबार पार्टीको सम्पूर्ण एकताका लागि अपिल गर्दै सहमतिबाट अघि बढ्न नेतृत्वलाई आग्रह गरेका थिए।

उनीहरूले संस्थापन पक्ष र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सार्वजनिक गरेका छुट्टाछुट्टै महाधिवेशन कार्यतालिका स्थगित गरी साझा सहमति खोज्नुपर्ने बताएका थिए। अपिलमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा र नैनसिंह महरसहितका नेता सहभागी थिए।

नेता रामहरि खतिवडाले आफूहरूले बृहत् एकताका लागि अपिल गरेपछि सभापति थापाले कार्यसम्पादन समिति बैठक बोलाएको जानकारी पाएको बताए। उनका अनुसार पूर्वमहामन्त्री शशांक कोइराला पक्षबाट पनि सहमतिका लागि पहल आवश्यक छ।

कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ। तर, निवर्तमान सभापति देउवा पक्षले भने असोज १५ गतेदेखि वडा अधिवेशन गर्ने गरी छुट्टै कार्यतालिका सार्वजनिक गरेको छ। दुई पक्षका फरक कार्यतालिकाबीच आजको बैठकले महाधिवेशनको प्रक्रिया र पार्टीभित्रको सहमतिका विषयमा महत्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।