कांग्रेस सुदूरपश्चिम संसदीय दलले बाढीपीडितका लागि ३ लाख ६१ हजार कोषमा जम्मा गर्यो

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित परिवारका लागि घोषणा गरेको आर्थिक सहायता रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। संसदीय दलले शुक्रबार ३ लाख ६१ हजार ६ सय ६७ रुपैयाँ कोषमा जम्मा गरेको हो।
संसदीय दलका अनुसार, यसअघि भदौ १२ गते भोटेकोसी बाढीपीडितका लागि मानवीय सहायता तथा राहतस्वरूप आर्थिक सहयोग गर्ने घोषणा गरिएको थियो। सोही घोषणाअनुसार संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले एक महिनाको पारिश्रमिक र अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिक बराबरको रकम सहयोग गरेका हुन्।

यसैबीच, शुक्रबार संसदीय दलका नेता शाहको अध्यक्षतामा बसेको बैठकले भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
बैठकले बाढीबाट प्रभावित परिवारप्रति दुःख तथा समवेदना व्यक्त गर्दै पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको संसदीय दलले जनाएको छ।




प्रतिकृया दिनुहोस्