September 11, 2026, Friday
२०८३ भाद्र २६

नेपाली भूमिमा भारतीय ठेगाना राखिएको बोर्ड, दार्चुलामा चर्कियो विरोध

दार्चुला । महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुलको नेपालतर्फ भारतीय ठेगाना राखिएको साइनबोर्ड भेटिएपछि दार्चुलामा नागरिकस्तरबाट विरोध चर्किएको छ।

नेपालतर्फ पर्ने पुल क्षेत्रमा राखिएको ‘नेपाल–भारत मैत्री सेतु’ लेखिएको बोर्डमा ठेगानाका रूपमा ‘काली नदी, छारछुम’ उल्लेख गरिएको छ। छारछुम भारतको धारचुला तहसिलअन्तर्गत पर्ने क्षेत्र हो। नेपालतर्फको पुल क्षेत्र भने महाकाली नगरपालिका–८, असिगडा पर्छ।

कालापानीलगायत सीमासम्बन्धी विषयमा नेपाल–भारतबीच लामो समयदेखि विवाद रहँदै आएको अवस्थामा नेपाली भूभागमा भारतीय ठेगाना उल्लेख गरिएको बोर्ड राखिएको विषयलाई स्थानीयले गम्भीर रूपमा लिएका छन्। राजनीतिक दल, पत्रकार तथा आमनागरिकले तत्काल बोर्ड सच्याउन माग गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका सभापति राजेशसिंह सामन्तले नेपाली क्षेत्रमा राखिएको बोर्डमा नेपालको ठेगाना उल्लेख हुनुपर्नेमा भारतीय ठेगाना राखिनु गम्भीर विषय भएको बताए। उनले यसबारे परराष्ट्र मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दार्चुलालाई जानकारी गराउँदै तत्काल सच्याउन माग गरिएको बताए।

सीमाक्षेत्रसँग जोडिएका विषयमा सरकारले संवेदनशीलता अपनाउनुपर्ने भन्दै सामन्तले परराष्ट्र मन्त्रालयमार्फत भारतसँग आवश्यक समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताए।

स्थानीय रवि धामीले नेपाल–भारतबीचको सम्झौता र सहकार्यमा बनेको पुलमा राखिने बोर्ड, लोगो र भाषाका विषयमा स्पष्ट मापदण्ड आवश्यक रहेको बताए। उनका अनुसार यस्ता विषयमा सामान्य त्रुटिले समेत सीमासम्बन्धी संवेदनशीलता बढाउन सक्ने भएकाले सावधानी अपनाउनुपर्छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले यस विषयमा भारतको धारचुलाका एसडीएम आशिषकुमार जोशीसँग कुराकानी भइसकेको र बोर्डमा भएको त्रुटि सच्याउने जानकारी भारतीय पक्षबाट आएको बताए।

पुल निर्माणमा संलग्न निर्माण कम्पनीका सबइन्जिनियर हेम पाण्डेले पनि साइनबोर्ड छपाउने क्रममा ठेगानामा त्रुटि भएको स्वीकार गर्दै तत्काल सच्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।