कैलाली कारागारबाट भागेका २०२ कैदी अझै बेपत्ता, जघन्य अपराधका आरोपीदेखि १९ भारतीयसम्म

धनगढी । जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका १९ भारतीय नागरिकसहित २०२ कैदीबन्दी अझै फरार छन्। कारागारमा तोडफोड भएपछि गत वर्ष भदौ २४ गते ६६५ कैदीबन्दी कारागारबाट बाहिरिएका थिए।
कारागार प्रशासनका अनुसार हालसम्म ४६३ कैदीबन्दी मात्रै कारागार फर्किएका छन्। फर्केकामध्ये केहीले बाँकी कैद भुक्तान गरी छुटिसकेको निमित्त जेलर वसन्त जोशीले जानकारी दिए।
आन्दोलनका बेला कैलाली कारागारमा कुल ६६७ कैदीबन्दी थिए। तीमध्ये एक जना बिरामी भएर अस्पतालमा उपचाररत थिए भने अर्का एक जना कारागारमै बसेका थिए। बाँकी कैदीबन्दी भने तोडफोडपछि कारागारबाट बाहिरिएका थिए।
फरार कैदीबन्दीलाई कारागार फर्कन जिल्ला प्रशासन कार्यालयले आग्रह गर्दै आएको छ। प्रहरीले पनि उनीहरूको खोजी जारी राखेको जनाएको छ। जघन्य अपराधमा संलग्न कैदीसमेत फरार रहेको जनाइएपछि उनीहरूको खोजीलाई प्रहरीले प्राथमिकतामा राखेको छ।
यसैबीच, आन्दोलनका क्रममा क्षतिग्रस्त कारागार प्रशासन कार्यालयको मर्मत सम्पन्न गरिएको छ। कारागारको बाहिरी सुरक्षाका लागि ठूलो पर्खाल निर्माण गरिएको छ भने कैदीबन्दी राख्ने नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको निमित्त जेलर जोशीले बताए।
फरारमध्ये भारतीय नागरिकसमेत रहेकाले उनीहरूको खोजीमा प्रहरीले आवश्यक समन्वय गरिरहेको जनाएको छ।
कारागारबाट ठूलो संख्यामा कैदी फरार भएको लामो समय बितिसक्दा पनि २०२ जना अझै सम्पर्कमा नआउनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।





प्रतिकृया दिनुहोस्