पूर्वप्रधानमन्त्री सुशीला कार्कीको कडा चेतावनी : दुई तिहाइले होइन, सुशासनले मात्रै दिन्छ स्थिरता

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई गम्भीर चेतावनी दिएको बताएकी छिन्। उनले सुशासन नभए संसद्को दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थिरता दिन नसक्ने स्पष्ट सन्देश आन्दोलनले दिएको उल्लेख गरेकी छिन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सन्देश जारी गर्दै कार्कीले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग गर्दै सडक तथा डिजिटल माध्यमबाट आवाज उठाएका युवामाथि दमन हुँदा निर्दोष युवाले ज्यान गुमाउनुपरेको बताएकी छिन्। उनले आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन्।
आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै राष्ट्रिय सम्पदा र धरोहरसमेत गुमाउनुपरेको भन्दै कार्कीले त्यसबाट लागेको घाउ लामो समयसम्म रहने बताएकी छिन्। अब त्यस्तो दिन दोहोरिन नदिन राज्य र राजनीतिक नेतृत्व गम्भीर बन्नुपर्ने उनको भनाइ छ।
कार्कीले राजनीतिक स्थायित्व संसदीय अंकगणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने टिप्पणी गरेकी छिन्। भ्रष्टाचार नियन्त्रण, विधिको शासन, सुशासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने भन्दै उनले जनतालाई पुनः सडकमा आउनुपर्ने अवस्था सिर्जना नगर्न चेतावनी दिएकी छिन्।
जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै मुलुक भोटेकोशी बाढीको अर्को पीडाबाट गुज्रिरहेको उल्लेख गर्दै कार्कीले विपद्को घडीमा सबै पक्ष धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुनुपर्ने बताएकी छिन्।
‘जनताको आवाज दबाएर स्थिरता सम्भव छैन’ भन्ने सन्देश जेनजी आन्दोलनले दिएको उल्लेख गर्दै कार्कीले सुशासन र परिवर्तनका लागि नागरिक फेरि सडकमा उत्रिनुपर्ने अवस्था आउन नदिन सरकारलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेकी छिन्।



प्रतिकृया दिनुहोस्