September 11, 2026, Friday
२०८३ भाद्र २६

देशभर मनसुनी प्रभाव कायमै, सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

धनगढी। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको पश्चिमी भूभागनजिक रहेको छ। उत्तर प्रदेश आसपास विकसित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षाको अवस्था देखिएको छ।

हाल मधेस प्रदेशमा आंशिक बदली छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। भारी तथा धेरै भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा जलसतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।