महाकाली नदीमा १५ वर्षीया किशोरी बेपत्ता, भिडियो बनाउने क्रममा खसेकी थिइन्

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–१०, खड्कदे नजिक महाकाली नदीमा भिडियो बनाउने क्रममा १५ वर्षीया किशोरी बेपत्ता भएकी छन्।
स्थानीय सृष्टि सुनार भिडियो बनाउने क्रममा नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनासँग सम्बन्धित भिडियोसमेत सार्वजनिक भएको छ। भिडियोमा किशोरी नदीमा खसेको दृश्य देखिन्छ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार खोजी कार्य जारी छ।
महाकाली नदीमा पानीको बहाव र जोखिमका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
यसैबीच, कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–३, पिपलाडीस्थित सुनबरा नदी किनारमा अन्दाजी ६५ वर्षीया सिठ्ठु खुना मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिका–१०, मुक्ति टोल बस्ने खुना सोमबार बिहान घरबाट निस्किएकी थिइन्। दिउँसो उनी नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन्।
मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





प्रतिकृया दिनुहोस्