सुदूरपश्चिममा तीन दिनसम्म वर्षाको सम्भावना, कञ्चनपुरमा १४१ मिलिमिटर वर्षा

धनगढी । कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा भइरहेको वर्षा आगामी तीन दिनसम्म जारी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ।
कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार आजदेखि २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम सामान्यतया बदली रहनेछ। विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। दिउँसो पहाडी र तराईका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकामा राति पनि केही स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
मङ्गलबार वर्षाको दायरा केही घट्ने भए पनि मौसम पूर्णरूपमा खुल्ने छैन। हिमाली तथा पहाडी क्षेत्रमा थोरैदेखि धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैबीच, पछिल्लो २४ घण्टामा कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा मापन भएको छ। कञ्चनपुरको भम्का–हनमाननगर स्टेशनमा १४१।४ मिलिमिटर र डडेल्धुराको गाईबान्ने स्टेशनमा १२७।८ मिलिमिटर वर्षा मापन भएको छ। सिरहामा पनि ९० मिलिमिटर वर्षा मापन भएको छ।
मौसम विज्ञानमा २४ घण्टामा ५०–१०० मिलिमिटर वर्षालाई भारी, १००–२०० मिलिमिटरलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढीलाई अति भारी वर्षा मानिन्छ। धेरै वर्षा भएका क्षेत्रमा नदी तथा खोलाको तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।



प्रतिकृया दिनुहोस्