September 1, 2026, Tuesday
२०८३ भाद्र १६

राहत र उद्धार प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय गर्न सांसदहरूको आग्रह

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरूले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिबीच प्रभावकारी समन्वय गर्दै राहत तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन्।

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा उनीहरूले तीनै तहका सरकारबीच समन्वयबिना विपद्को समस्या समाधान गर्न कठिन हुने भन्दै एकीकृत रूपमा अघि बढ्न सरकारलाई सुझाव दिएका हुन्।

बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिबीच प्रभावकारी समन्वय हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले टनेल रेस्क्यु प्रविधि, आवश्यक आधुनिक उपकरण तथा दक्ष जनशक्तिसहितको विशेष उद्धार टोली तत्काल कार्यक्षेत्रमा परिचालन गर्नुपर्ने बताइन्।

फेला परेका शवको पहिचान तथा व्यवस्थापनमा मानवीय संवेदनशीलता अपनाउनुपर्नेमा पनि उनले जोड दिइन्।

त्यस्तै, राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई प्रतिपक्षीजस्तो व्यवहार गरेको भन्दै राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने धारणा राखे। गृहमन्त्री आफैँ फिल्डमा खोजतलास तथा टनेल उद्धारमा अल्झिनुभन्दा सुरक्षा निकायसँग समन्वय, विदेशी संघ–संस्थासँग सहकार्य तथा राहत सामग्रीको प्रभावकारी व्यवस्थापनमा केन्द्रित हुनुपर्ने उनले बताए।

राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले अहिलेको चुनौती सामना गर्न राष्ट्रिय एकताका साथ अघि बढ्न सरकारलाई सुझाव दिए। उनले बेपत्ताको खोजी, नागरिकको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन राज्यका सबै निकायबीच समन्वय आवश्यक रहेको बताए।

पुनर्निर्माण तथा पुनःस्थापनाका लागि क्षति र आवश्यकताको सही तथा यथार्थ तथ्याङ्क संकलन गर्नुपर्नेमा जोड दिँदै दंगालले विस्थापित समुदाय तथा परिवारलाई भविष्यमा आउन सक्ने विपद्बाट सुरक्षित हुने गरी एकीकृत बस्ती निर्माण गरेर व्यवस्थित पुनःस्थापना गर्नुपर्ने बताए।

यसैबीच, राष्ट्रियसभाको बैठक आगामी भदौ २३ गतेसम्मका लागि स्थगित भएको छ। मंगलबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको अर्को बैठक भदौ २३ गते दिउँसो १ः१५ बजे बस्ने गरी निर्धारण गरिएको जानकारी दिए।

यसअघि अध्यक्ष दाहालले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष वक्तव्य दिएका थिए। बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेपछि बैठक स्थगित गरिएको हो।