सरकारलाई राहत वितरणमा ‘एकद्वार प्रणाली’ सुधार्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बाढी-पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ।
राहत वितरणमा लागू गरिएको ‘एकद्वार प्रणाली’ का कारण विशेषगरी महिला तथा बालबालिकाका आवश्यकता ओझेलमा परेको कांग्रेसको निष्कर्ष छ।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा सभापति गगन थापाले विपद्को समयमा सरकारको नेतृत्वलाई केन्द्रमा राखेर कांग्रेसले पूर्ण सहयोग गर्ने बताए।
उनले राहत तथा उद्धारमा देखिएका कमजोरी औँल्याउनु सरकारको आलोचना नभई सहयोग भएको बताए। ‘कहाँ ग्याप छ, कहाँ काम हुन सकेको छैन भनेर औँल्याउनु आलोचना होइन, सरकारलाई सहयोग पुर्याउनु हो,’ उनले भने।
थापाले कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा निर्वाचित जनप्रतिनिधिलाई स्वेच्छिक रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आग्रह गरे। पार्टीका विभिन्न समितिबाट संकलित रकम एकमुष्ट रूपमा कोषमा बुझाइने उनले बताए।
उद्धारका लागि नेपालसँग पर्याप्त स्रोत वा विज्ञता नभए बाह्य सहयोग लिन संकोच गर्न नहुने उनको भनाइ थियो। विशेषगरी सुरुङ तथा जटिल भौगोलिक क्षेत्रमा फसेकाको उद्धारमा आवश्यक सहयोग लिनुपर्ने उनले बताए।
प्रमुख सचेतक वासना थापाले भने ‘एकद्वार प्रणाली’ का कारण राहत वितरणमा समस्या देखिएको बताइन्। स्थलगत अनुगमनका क्रममा महिला तथा बालबालिकाको अवस्था कष्टकर देखिएको उल्लेख गर्दै उनले स्यानिटरी प्याड, हाइजिन किट तथा पोषण सामग्रीको अभाव रहेको बताइन्।
उनका अनुसार केन्द्रबाट पठाइएका राहत सामग्री कतिपय ठाउँमा थुप्रिए पनि प्रभावितसम्म पुग्न सकेका छैनन्। स्वास्थ्य, महिला अधिकार तथा बाल संरक्षणमा काम गर्ने संस्थालाई सहज रूपमा प्रभावित क्षेत्रमा काम गर्ने वातावरण बनाउन उनले सरकारसँग आग्रह गरिन्।
यसैबीच, संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद् प्रभावित क्षेत्रमा पार्टीको झण्डा तथा पहिचान झल्किने सामग्री प्रयोग नगरी सेवाभावले काम गर्न कांग्रेस नेता–कार्यकर्तालाई आग्रह गरे। ‘विशुद्ध सेवाको रूपमा जाऔँ, सेवा गर्दा जनताले आफैँ चिन्छन्,’ उनले भने।
बैठकमा नुवाकोट, रसुवा र धादिङका नेता–कार्यकर्ताले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी गराएका थिए।





प्रतिकृया दिनुहोस्