August 30, 2026, Sunday
२०८३ भाद्र १४

नेपालको विपद्मा चार देशको साथ, कसले के सहयोग गरे ?

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि चीन, अमेरिका, भारत र श्रीलंकाले खोजी, उद्धार तथा राहतका लागि सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।

चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई वटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ आवश्यक उपकरणसहित नेपाल आएका छन्। विमानस्थलमा आयोजित हस्तान्तरण समारोहमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति थियो।

यसैगरी, अमेरिकाले बाढी प्रभावित नेपालीका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत विपद्को घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको जनाएको छ।

अमेरिकी सहयोगअन्तर्गत बाढी प्रभावित १० हजार घरपरिवारलाई तीन महिनासम्म आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ। मन्त्रालयले नेपालमा रहेका अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेकोसमेत जनाएको छ।

भारतले पनि खोजी, उद्धार तथा राहतका लागि थप सहयोग उपलब्ध गराएको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ पठाइएको छ।

भारतीय वायुसेनाको सी–१३० विमानमार्फत आवश्यक उद्धार उपकरणसहितको सुरुङ उद्धार प्राविधिक टोली नेपाल आएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ। त्यस्तै, डीएनए विश्लेषणका लागि आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आएको छ।

भारतले पठाएको राहत सामग्रीमा ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट तथा सरसफाइका सामग्रीलगायत छन्। भारतका अनुसार हालसम्म हवाईमार्गबाट ६८.५ टन राहत सामग्री काठमाडौं ल्याइसकिएको छ। यसअघि पठाइएका सामग्रीमा अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर, तयारी खानाका प्याकेट र पानी शुद्धीकरण गर्ने ट्याब्लेटलगायत छन्।

बाढीपहिरोबाट सडक तथा पुलमा क्षति पुगेपछि यातायात सुचारु गर्न भारतले संरचनागत सहयोगसमेत उपलब्ध गराएको छ। जयशंकरका अनुसार २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिजका उपकरण बोकेका १६ वटा ट्रक नेपालतर्फ पठाइसकिएको छ। थप सात वटा बेली ब्रिजका उपकरण र प्राविधिक टोली पनि छिट्टै नेपाल आउने उनले बताएका छन्।

यसैगरी, श्रीलंकाले नेपाललाई १० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले २७ अगस्टमा जारी गरेको विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो।

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा भइरहेको मानवीय तथा राहत कार्यमा सहयोग गर्न उक्त रकम उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका हुन्। उनले बाढीपहिरोमा ज्यान गुमाउनेका परिवार, नेपाल सरकार र नेपाली जनताप्रति समवेदना व्यक्त गर्दै संकटको घडीमा श्रीलंका नेपाली जनताको साथमा रहेको बताएका छन्।

श्रीलंकाको सहयोग बाढीपहिरो प्रभावित समुदायको तत्काल राहत तथा मानवीय सहायतामा उपयोग गरिने जनाइएको छ। यसैबीच, श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन कुराकानी गर्दै नेपालप्रति समवेदना, समर्थन र ऐक्यबद्धता व्यक्त गरेका छन्।