बाढीको पाँच दिन : मृत्यु र बेपत्ताको तथ्य खुल्दै, कारण अझै अनिश्चित

काठमाडौं । भोटेकोशी विपत्तिको पाँचौँ दिन पनि रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्वलगायतका ठाउँमा शव फेला पर्ने क्रम जारी छ। अचानक आएको बाढीको कारणबारे जलवायु विज्ञ, हिमाल तथा हिमनदी विशेषज्ञहरू अध्ययनमा जुटेका छन्।
बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू खोजी र उद्धारमा परिचालित छन्। अधिकांश उद्धार उडान रसुवा, टिमुरे, त्रिशूली तथा धुन्चे क्षेत्रमा केन्द्रित छन्।
घटनामा कतिको मृत्यु भयो, कति घाइते भए र कति अझै सम्पर्कविहीन छन् भन्ने एकीकृत विवरण भने संकलन भइसकेको छैन। विभिन्न जिल्लाबाट प्राप्त विवरणका आधारमा तथ्यांक अद्यावधिक गर्ने काम भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार साँझ ६:३० बजेसम्मको अद्यावधिक विवरणअनुसार हालसम्म ६७५ शव फेला परेका छन्। ७ हजार ५१४ जनालाई उद्धार गरिएको छ भने २ हजार ४९८ जना सम्पर्कविहीन छन्।
सम्पर्कविहीनमध्ये २७ जना प्रहरी कर्मचारी रहेका छन्। उद्धार तथा खोजी कार्यमा १८ हजार ७०८ सुरक्षाकर्मी परिचालित छन्। विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या २१९ रहेको प्राधिकरणले जनाएको छ।
सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम गरेको छ। राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ।
हालसम्मको विवरण
- फेला परेका शव : ६७५
- घाइते तथा अन्य उद्धार गरिएका : ७,५१४
- सम्पर्कविहीन : २,४९८
- सम्पर्कविहीन प्रहरी कर्मचारी : २७
- उद्धारमा परिचालित सुरक्षाकर्मी : १८,७०८
- विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइते : २१९
स्रोत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण





प्रतिकृया दिनुहोस्