October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

आज जनैपूर्णिमा पर्व मनाइँदै, देशभरका मठमन्दिरमा भक्तजनको भीड

काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा पर्व देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मनाइँदैछ।

जनैपूर्णिमाका अवसरमा वैदिक सनातन धर्मावलम्बी बिहानै नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा गई स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गर्छन्। धार्मिक मान्यताअनुसार जप, तप तथा पूजा गरी मन्त्रिएको रक्षासूत्र धारण गर्दा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने विश्वास छ।

यस दिन तागाधारीले गुरु–पुरोहितबाट विधिपूर्वक मन्त्रिएको नयाँ यज्ञोपवीत (जनै) धारण गर्ने प्रचलन छ। शास्त्रीय परम्पराअनुसार ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीले जनै फेर्ने गर्छन्।

जनैपूर्णिमाको अघिल्लो दिनदेखि व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै नदी, पोखरी, ताल तथा कुण्डमा गई स्नान गर्छन्। स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक विधिअनुसार मन्त्रिएको नयाँ जनै धारण गरिन्छ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिको पूजा तथा तर्पण गरिने भएकाले जनैपूर्णिमालाई ऋषितर्पणीसमेत भन्ने गरिन्छ। वैदिक गुरु परम्परामा यज्ञोपवीतलाई ब्रह्मसूत्र वा ज्ञानको धागोका रूपमा समेत लिइन्छ।

जनैपूर्णिमाका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका मठमन्दिर, नदी किनार तथा धार्मिकस्थलमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक तथा वाग्मती नदी किनारमा पनि रक्षासूत्र बाँध्ने र जनै फेर्नेहरूको चहलपहल हुने गर्छ।

जनैपूर्णिमाको अर्को प्रमुख विशेषता क्वाँटी हो। ११ थरिका गेडागुडी मिसाएर भिजाई टुसा उमारेर बनाइएको क्वाँटी खाने परम्परा छ। वर्षायाममा शरीरमा लागेको चिसो हटाउन तथा स्वास्थ्यका लागि उपयोगी हुने विश्वासका कारण यस दिन क्वाँटी खाने गरिन्छ।

यस्तै, नेपालको तराई क्षेत्रमा जनैपूर्णिमालाई राखी पर्वका रूपमा पनि मनाइन्छ। दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर आपसी प्रेम, स्नेह र भाइचाराको सम्बन्धलाई अझ बलियो बनाउने सामाजिक मान्यता छ। पछिल्लो समय पहाडी क्षेत्रमा पनि राखी बाँध्ने परम्परा विस्तार हुँदै गएको छ।

जनैपूर्णिमाका अवसरमा काठमाडौंको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर तथा गङ्गासागर, जुम्लाको दानसाधु र नवलपरासीको त्रिवेणीधामलगायत धार्मिक तथा पर्यटकीयस्थलमा विशेष मेला लाग्ने गर्छ।