भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, नुवाकोटमा मात्रै १ हजार ५०० परिवार विस्थापित

काठमाडौँ । भोटेकोशी (त्रिशूली) नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ।
नेपाल प्रहरीका अनुसार बिहीबार दिउँसो साढे १ बजेसम्म बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको हो। प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।
बाढीपछि उद्धार तथा खोजी कार्यका लागि घटनास्थलमा ४ हजार ५० जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
भोटेकोशीको बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्याएको छ। त्रिशूली नदी किनारका बस्ती, बजार तथा महत्त्वपूर्ण भौतिक पूर्वाधार बाढी र कटानका कारण तहसनहस भएका छन्।
नदी किनारमा रहेका कैयौँ घर तथा संरचना बाढीको तीव्र बहावमा परेर बगेका छन्। बाढीबाट जोगिएका कतिपय भवनको जगसमेत कटानले खोतलेपछि ती संरचना जोखिममा परेका छन्। त्रिशूली, ढुंगेबजार र देवीघाट बजारका नदी किनार अहिले भग्नावशेष र बालुवाको थुप्रोमा परिणत भएका छन्।
बाढीको ठूलो असर जलविद्युत् आयोजनामा समेत परेको छ। नदीको अनियन्त्रित बहावले आयोजनाका विभिन्न संरचना बगाउँदा ठूलो क्षति भएको छ। जलविद्युत् संरचनामा क्षति पुगेपछि नुवाकोटका केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। विद्युत् सेवा अवरुद्ध हुँदा बाढी प्रभावितको दैनिकी थप कष्टकर बनेको छ।
एक दर्जनभन्दा बढी हेलिकप्टरबाट उद्धार
बाढी र नदी कटानका कारण सडकमार्गबाट आवागमन कठिन भएपछि अलपत्र नागरिकको उद्धारका लागि हवाई माध्यम प्रयोग भइरहेको छ।
विदुर नगरपालिका–४, दम्कीस्थित नेपाली सेनाको मैथली ब्यारेकलाई उद्धारको मुख्य केन्द्र बनाएर उद्धार अभियान सञ्चालन गरिएको छ। फसेका नागरिकलाई सुरक्षित स्थानमा सार्न नेपाली सेनाको नेतृत्वमा एक दर्जनभन्दा बढी हेलिकप्टर परिचालन गरिएको छ।
नुवाकोटमा १ हजार ५०० परिवार विस्थापित
बाढीका कारण नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित भएका छन्।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार बाढीका कारण जिल्लाका करिब १ हजार ५०० परिवार घरबारविहीन भएका हुन्। विस्थापित परिवार अहिले सुरक्षित आश्रयस्थल र राहतको पर्खाइमा छन्।
बाढीले त्रिशूली, ढुंगेबजार र देवीघाट बजार क्षेत्रमा पुर्याएको क्षति तथा भग्नावशेषमा परिणत भएका संरचनाको दृश्य अनलाइनखबरकर्मी शंकर गिरीले क्यामेरामा कैद गरेका छन्।



प्रतिकृया दिनुहोस्