October 26, 2026, Monday
२०८३ कार्तिक ११

साइबर ठगी बढेपछि कैलाली उद्योग वाणिज्य संघको अपिल : ‘गोप्य विवरण कसैलाई नदिनू’

धनगढी : कैलाली उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाका कर्मचारी बनेर हुने साइबर ठगीबाट सचेत रहन व्यवसायी तथा आम नागरिकलाई अपिल गरेको छ।

पछिल्लो समय बैंक, डिजिटल वालेट तथा विभिन्न वित्तीय संस्थाका कर्मचारी भएको परिचय दिँदै फोन, ह्वाट्सएपलगायत डिजिटल माध्यमबाट व्यक्तिगत तथा वित्तीय विवरण मागेर ठगी गर्ने घटना बढेपछि संघले सावधानी अपनाउन आग्रह गरेको हो।

संघका कार्यवाहक अध्यक्ष केशवराज जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा बैंक खाता, डिजिटल वालेट तथा व्यक्तिगत र वित्तीय विवरण दुरुपयोग हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

संघका अनुसार बैंक, ई-सेवा, खल्ती वा अन्य वित्तीय संस्थाका कर्मचारी भएको परिचय दिएर फोन वा अनलाइनमार्फत ओटीपी, पिन, पासवर्ड, बैंक खातासम्बन्धी गोप्य विवरण माग्ने व्यक्तिप्रति सचेत हुनुपर्छ। त्यस्ता व्यक्तिलाई मोबाइलको स्क्रिन सेयर वा रिमोट एक्सेससम्बन्धी अनुमति नदिन पनि संघले आग्रह गरेको छ।

त्यसैगरी केवाईसी, पासवर्ड वा बैंक खाता अपडेट गर्नुपर्ने भन्दै फोन वा ह्वाट्सएपमा आएका सन्देशमा तत्काल विश्वास नगर्न संघले अनुरोध गरेको छ। यस्ता सूचना प्राप्त भएमा सम्बन्धित बैंक वा वित्तीय संस्थाको आधिकारिक नम्बर, मोबाइल एप वा कार्यालयमार्फत सम्पर्क गरी सूचना यकिन गर्नुपर्ने संघको भनाइ छ।

संघले अनजान लिंकमा क्लिक नगर्न, शंकास्पद फोन तथा सन्देशको जवाफ नदिन र ओटीपी, पिन, पासवर्ड तथा अन्य गोप्य विवरण कसैलाई पनि नदिन आग्रह गरेको छ। शंकास्पद फोन वा सन्देश आए तत्काल सम्पर्क विच्छेद गरी कुनै प्रतिक्रिया नदिन पनि विज्ञप्तिमा भनिएको छ।

साथै परिवारका सदस्य, कर्मचारी तथा ग्राहकलाई समेत सम्भावित साइबर ठगीका जोखिमबारे सचेत गराउन संघले व्यवसायीहरूलाई आग्रह गरेको छ।

‘सचेत नागरिक, सुरक्षित व्यवसाय’ भन्ने मूल भावनाका साथ संघले सुरक्षित डिजिटल कारोबार र साइबर सुरक्षाका लागि सबै उद्योगी, व्यवसायी तथा आम नागरिकलाई आ-आफ्नो स्तरबाट आवश्यक सावधानी अपनाउन अपिल गरेको छ।