भोटेकोसीमा एक्कासि कहाँबाट आयो यति ठूलो बाढी ? तिब्बतको पहिरो र हिमतालमाथि विज्ञको नजर

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा बुधबार बिहान एक्कासि आएको भीषण बाढीको स्रोत अझै खुलेको छैन। तिब्बततर्फबाट छोटो समयमै अस्वाभाविक रूपमा ठूलो परिमाणमा पानी नेपाल प्रवेश गरेपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।
सामान्य वर्षापछि नदीमा पानी क्रमशः बढ्ने भए पनि बुधबारको बाढीमा एकाएक पानीको सतह बढ्नु र तीव्र वेगमा ठूलो बहाव नेपालतर्फ आउनुले विज्ञहरूको ध्यान तिब्बतको उच्च हिमाली क्षेत्रतर्फ तानेको छ।
प्रारम्भिक अध्ययनमा बाढीको स्रोत हिमताल, हिमनदी वा माथिल्लो हिमाली क्षेत्रमा अचानक खुलेको कुनै जलमार्ग हुनसक्ने आशंका गरिएको छ। यहीबीच बुधबार बिहानै तिब्बतको शिगात्सेअन्तर्गत केरुङ क्षेत्रमा पहिरोसँगै आकस्मिक बाढी आएको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।
केरुङमा पहिरो र बाढी आउनु तथा त्यसै दिन तिब्बततर्फबाट भोटेकोसीमा अस्वाभाविक रूपमा ठूलो पानी आउनुले यी दुई घटनाबीच सम्बन्ध छ कि छैन भन्ने प्रश्नसमेत उठेको छ। तर, केरुङको पहिरो नै भोटेकोसी बाढीको कारण हो भन्ने पुष्टि भइसकेको छैन।
भौगोलिक सूचना प्रणाली विज्ञ विष्णु महर्जनका अनुसार अगस्ट २४ मा प्राप्त सेन्टिनेल स्याटेलाइट तस्बिरको प्रारम्भिक अध्ययनमा भोटेकोसीसँग जोडिएको तिब्बततर्फको माथिल्लो हिमाली क्षेत्रमा पानीको बहाव सक्रिय भएको संकेत देखिएको छ।
सम्भावित सक्रिय क्षेत्र भोटेकोसी नदीसँग जोडिने स्थानभन्दा करिब ३५ देखि ३८ किलोमिटर माथिल्लो भागमा देखिएको उनको भनाइ छ।
यद्यपि, स्याटेलाइट तस्बिरमा देखिएको परिवर्तनकै कारण बाढी आएको हो वा हिमताल फुटेर पानी निस्किएको हो भन्ने अहिलेसम्म प्रमाणित भएको छैन। थप स्याटेलाइट तस्बिर, वर्षाको तथ्यांक, नदीको जलसतह तथा स्थलगत अध्ययनबाट मात्रै बाढीको वास्तविक स्रोत पत्ता लाग्ने विज्ञहरूको भनाइ छ।
बुधबारको घटनाले २०२५ जुलाईमा रसुवागढी क्षेत्रमा आएको विनाशकारी बाढीलाई समेत सम्झाएको छ। त्यसबेला गरिएको अध्ययनले तिब्बतको परेपू/पुरुगु क्षेत्रमा हिमनदीमाथि बनेको हिमतालबाट अचानक पानी बाहिरिएर लेहेँन्दे नदी हुँदै भोटेकोसीमा प्रवेश गरेको देखाएको थियो।
यसपटक पनि तिब्बततर्फको हिमाली क्षेत्रमा भएको कुनै आकस्मिक परिवर्तनले नेपालमा बाढी ल्याएको हो कि भन्ने विषयमा अनुसन्धान केन्द्रित भएको छ।



प्रतिकृया दिनुहोस्