April 17, 2026, Friday
२०८३ बैशाख ४

दिपायलमा नाममात्रको यातायात व्यवस्था कार्यालय

गणेश मौनी
डोटी मंसिर २६(ई-रैवार): डोटी, अछाम र बाजुरा जिल्लाका सेवा ग्राहीलाई सेवा प्राप्त गर्न सहजताका लागि पाँचवर्षअघि दिपायलमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरिएको थियो । त्यसअघि कार्यालयको सेवा लिन यहाँका सेवाग्राहीले धनगढी पुग्नुपर्ने बाध्यता थियो ।
जुन बाध्यता पाँचवर्ष नाघ्दा समेत यहाका सेवाग्राहीका लागि अझै हटेको छैन् । दिपायलको राजपुरमा एउटा भवनमा सो कार्यालयको बोर्ड त टाँगिएको छ, तर, सेवा भने कहिल्यै सुचारु हुनसकेन् ।
यो कार्यालयमा आठौं तहको कार्यालय प्रमुख रहने दरबन्दीको संरचना अनुसार साउन देखि कार्यालय प्रमुख नै छैनन् । हाल सहायक छैठौले निमित्त भएर  जिम्मेवारी समाल्दै आएका छन् । संरचना अनुसार आठौँ तहको कार्यालय प्रमुख, छैठौं तहका अधिकृत एक, पाँचौं तह एक, चौथो एक, मेकानिकल सुपरभाईजर र कार्यालय सहयोगी दुई गरी जम्मा सातजनाको दरवन्दी रहेको छ ।
जसमा छैठौँैं तहका अधिकृत, पाँचौ तहका एकजना सहायक, चौथो तहका सहायक एक र कार्यालय सहयोगी एक जनामात्रै कर्मचारी कार्यरत छन् ।
प्राबिधिक कर्मचारी नभएकाले सेवा दिनै नसकिएको निमित्त कार्यालय प्रमुख  चेतराज भट्टले वताए । उनले भने, ‘अरु कर्मचारी कामचलाउ भईहाल्थ्यो । आवश्यक पर्ने प्राबिधिक कर्मचारी नै छैनन सेवा कसरी दिने ?’
कार्यालय स्थापना भएको पाँचवर्ष बित्दा सेवा लिन कैलाली धाउनुपर्ने बाध्यता कायमै छ । सवारी दर्ता÷नविकरण तथा नामसारी, सवारी चालक अनुमतिपत्र जारी ÷नविकरण, बाटो इजाजतपत्र जारी÷नविकरण, यातायात सेवा पञ्जीकृत, सवारी जाँचपास लगायतका सेवा अधिकारी सहित स्थापना भएको कार्यालय कामविहिन बन्दा सेवाग्राही धनगढी नै पुग्न बाध्य छन् ।