पश्चिम नेपालमा वर्षा जारी, लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा पश्चिम नेपालका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ, नेपाल नजिक रहेको छ।
मनसुन सक्रिय रहेसँगै पछिल्लो एक घण्टामा कैलालीको बलियामा ३१ मिलिमिटर वर्षा भएको छ। त्यस्तै कञ्चनपुरको सुन्दरपुरमा ९ मिलिमिटर, बैतडीको गोकुलेश्वरमा ७ मिलिमिटर र बर्दियाको बर्गदहमा ६.८ मिलिमिटर वर्षा मापन गरिएको छ।
पछिल्लो २४ घण्टामा स्याङ्जाको पुतलीबजारमा ११८.४ मिलिमिटर तथा नवलपुरको डेढगाउँमा ८०.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।
सोमबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
सोमबार राति देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।





प्रतिकृया दिनुहोस्