किशोर श्रेष्ठ पक्राउ र जनआस्था कार्यालयमा खानतलासीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौं । प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको तथा सञ्चारमाध्यमको कार्यालयमा खानतलासी गरी सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलका प्रवक्ता दीपक खनालले बिहीबार विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई बुधबार राति पक्राउ गरी निजी निवासमा खानतलासी गरिएको र बिहीबार बिहान जनआस्था साप्ताहिकको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाबारे ध्यानाकर्षण भएको बताएका हुन्।
काउन्सिलले नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रतामार्फत हुने भन्दै प्रेसको मर्यादा कायम राख्नु सबै पक्षको दायित्व भएको जनाएको छ। साथै, प्रेस स्वतन्त्रताको प्रयोगसँगै त्यसको सदुपयोग र सम्मान हुनुपर्नेमा पनि जोड दिएको छ।
तर, काउन्सिलले सञ्चारकर्मीको पेसागत आचरण र व्यवहारप्रति पनि उत्तिकै सचेत हुनुपर्ने धारणा सार्वजनिक गरेको छ। प्रेस स्वतन्त्रताको नाममा स्वच्छन्दता हुन नदिन पत्रकार तथा सञ्चारकर्मी स्वयं सजग हुनुपर्ने काउन्सिलको भनाइ छ।
काउन्सिलले सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारितामार्फत सञ्चार क्षेत्रलाई मर्यादित, जवाफदेही र उत्तरदायी बनाउनुपर्ने बताएको छ। प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन पत्रकार र सञ्चारमाध्यम दुवै पक्षले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उसले जनाएको छ।
कुनै समाचार वा सञ्चार सामग्रीप्रति चित्त नबुझे कानुनी प्रक्रिया अवलम्बन गर्दै प्रेस काउन्सिलमा उजुरी दिन सरोकारवाला सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ।
काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र पत्रकार र सञ्चारमाध्यमको अनुगमन गर्दै आएको स्मरण गराउँदै प्रेस स्वतन्त्रताको संरक्षणसँगै पेसागत मर्यादा र आचारसंहिताको पालनामा पनि जोड दिएको छ।
यस्तो छ काउन्सिलको विज्ञप्ति :






प्रतिकृया दिनुहोस्