August 24, 2026, Monday
२०८३ भाद्र ९

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं : समाचार लेखेकै विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ।

महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई समाचारसँग सम्बन्धित विषयमा पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको जनाएको हो।

श्रेष्ठलाई बुधबार राति करिब ९ बजे काठमाडौं प्रहरी परिसरको टोलीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि प्रहरीले समाचारको स्रोत खोज्ने क्रममा राति करिब १ बजे उनको निवासमा खानतलासी गरेको तथा बिहीबार बिहान जनआस्था कार्यालयमा समेत छापा मारेको महासंघले जनाएको छ।

समाचारमा चित्त नबुझेका विषयको निरूपण गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालसँग रहेको महासंघको ठहर छ। उक्त संवैधानिक तथा कानुनी प्रक्रियालाई बेवास्ता गर्दै प्रहरी संयन्त्र प्रयोग गरेर पत्रकारलाई पक्राउ गर्ने र समाचारको स्रोत खोज्ने कार्य पत्रकार आचारसंहिता, प्रेस स्वतन्त्रताको मान्यता र संविधानको मर्मविपरीत रहेको महासंघले जनाएको छ।

महासंघले पत्रकारले प्रकाशन तथा प्रसारण गरेका सामग्रीमाथि असहमति भए त्यसको समाधान पक्राउ र खानतलासीबाट नभई स्थापित कानुनी तथा व्यावसायिक प्रक्रियाबाट खोजिनुपर्ने स्पष्ट पारेको छ।

‘समाचारमा चित्त नबुझे प्रहरी लगाएर पत्रकार पक्राउ गर्ने र समाचारको स्रोत खोज्ने प्रवृत्तिले स्वतन्त्र पत्रकारितामाथि गम्भीर खतरा निम्त्याउँछ,’ भन्ने निष्कर्षसहित महासंघले सरकारको कार्यशैलीप्रति खेद व्यक्त गर्दै घटनाको कडा भर्त्सना गरेको छ।

महासंघले पत्रकार श्रेष्ठलाई तत्काल र बिनाशर्त रिहा गर्न, प्रेसविरोधी व्यवहार सच्याउन तथा आगामी दिनमा पत्रकारितासम्बन्धी विवादमा दमनकारी शैली नअपनाउन सरकारसँग माग गरेको छ।

समाचारसँग सम्बन्धित कुनै विवाद भए प्रेस काउन्सिल नेपालमार्फत आवश्यक प्रक्रिया अघि बढाएर समाधान खोज्न सम्बन्धित निकायलाई महासंघले आग्रह गरेको छ। साथै, पत्रकारिताको क्षेत्राधिकार र प्रेस स्वतन्त्रताको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई पनि आग्रह गरेको छ।

press release 28 saun copy