October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

देउवा आज स्वदेश फर्किंदै, स्वागतका लागि विमानस्थलमा ठूलो संख्यामा नेता कार्यकर्ता जुट्दै

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै छन्। उनी थाइ एयरको विमानबाट आज मध्याह्न १२ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिएका छन्।

देउवा हङकङबाट नेपाल फर्किन लागेका हुन्। उनको स्वागतका लागि कांग्रेसको इतर पक्षले विमानस्थलमा ठूलो संख्यामा समर्थक जुटाउने तयारी गरेको छ।

नेता विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि त्रिभुवन विमानस्थल आसपास तीन स्थान तोकिएका छन्। समर्थकहरूलाई विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटअगाडिको खाली ठाउँ, नमस्ते गेटअगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पतालअगाडिको क्षेत्रमा भेला हुन भनिएको छ।

देउवा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा घाइते भएका थिए। त्यसपछि उपचारका लागि उनी सिंगापुर गएका थिए। थप उपचारका लागि पत्नी आरजु राणा देउवासहित हङकङ पुगेका थिए।

यसैबीच, देउवाको स्वदेश फिर्तीका क्रममा कुनै बाधा–अवरोध वा धरपकड नगर्ने गरी सरकारसँग ‘भद्र समझदारी’ बनेको सरकारनिकट स्रोतले दाबी गरेको छ। स्रोतका अनुसार देउवालाई विशेष सुरक्षा दिएर निजी निवास महाराजगञ्जसम्म पुर्‍याउने तयारी छ।

देउवा दम्पती विदेशमा रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पुर्जी जारी गरेका थिए।

पक्राउ पुर्जी रोक्न माग गर्दै देउवा र उनकी पत्नी आरजु राणा देउवाले वारेसमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले जेठ ११ गते देउवा दम्पतीलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।

यसैबीच, देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। भेला भोलिदेखि ३१ गतेसम्म सञ्चालन हुने बताइएको छ। देउवा पनि भेलामा सहभागी हुने इतरपक्षको दाबी छ।