August 14, 2026, Friday
२०८३ श्रावण २९

विश्वासको मत लिन मुख्यमन्त्री शाहले बोलाए प्रदेशसभा बैठक, राजीनामाको तयारी

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बोलाइदिन सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन्।

मुख्यमन्त्री शाहले भोलि साँझ ५ बजे प्रदेशसभा बैठक बोलाउन आग्रह गर्दै सभामुखलाई पत्र पठाएका हुन्। मुख्यमन्त्रीको पत्र प्राप्त भएको सभामुख भण्डारीले पुष्टि गरेका छन्।

गत महिनाको ३१ गते सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने भएपछि शाहले विश्वासको मत लिने तयारीस्वरूप प्रदेशसभा बैठक बोलाउन पत्र पठाएका हुन्।

विश्वासको मतका लागि बैठक बोलाउन पत्र पठाए पनि मुख्यमन्त्री शाहले विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ। स्रोतका अनुसार शाहले भोलि प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिने विषयमा आन्तरिक छलफल गरिरहेका छन्।

सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य छन्। सरकार जोगाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री शाहलाई हाल नेपाली कांग्रेसका १८ सांसदको समर्थन छ। कांग्रेसका सांसद प्रकाश देउवा भने हाल अमेरिकामा छन्।

कांग्रेसको समर्थनबाहेक सरकार जोगाउन थप ९ सांसदको समर्थन आवश्यक पर्ने भए पनि आवश्यक संख्या सुनिश्चित नभएपछि मुख्यमन्त्री शाह राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।

मुख्यमन्त्री शाहले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुल्नेछ। पाँचौँ मुख्यमन्त्रीका रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्टलाई अघि सार्ने विषयमा केन्द्रमा नेकपा र एमालेबीच सहमति भइसकेको नेताहरूले बताउँदै आएका छन्।