August 24, 2026, Monday
२०८३ भाद्र ९

आज सात संसदीय समितिको बैठक बस्दै, वित्तीय सङ्घीयतादेखि जलवायु सम्मेलनसम्म छलफल

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले वित्तीय सङ्घीयता, मानव अधिकार, सामाजिक संस्थाको अवस्था, विधि विज्ञान प्रयोगशाला, गृह मन्त्रालयसम्बद्ध उजुरी तथा जलवायु परिवर्तनसम्बन्धी विषयमा छलफल गर्ने भएका छन्।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, समस्या तथा चुनौती र आयोगका सिफारिस कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ।

यसैगरी, महिला तथा सामाजिक मामिला समितिले बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था र अनुगमनबाट प्राप्त निष्कर्षमाथि छलफल गर्नेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ।

अपराह्न १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित उजुरीमाथि छलफल हुनेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिले विगतका कोप सम्मेलनमा भएका निर्णय तथा सम्झौता र तिनको कार्यान्वयनको अवस्थाबारे छलफल गर्नेछ। साथै, ती निर्णय तथा सम्झौता कार्यान्वयनका लागि नेपाल सरकारबाट भएका कामकारबाहीबारे पनि जानकारी लिइनेछ।

सोही समितिको बैठकमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा नेपालको सहभागिताका लागि भइरहेको तयारीबारे सरकारका सम्बन्धित अधिकारीसँग जानकारी लिने कार्यक्रमसमेत रहेको छ।

यसरी आजका संसदीय समितिका बैठकमा सुशासन, मानव अधिकार, वित्तीय सङ्घीयता, सामाजिक सुरक्षा, कानुनी पूर्वाधार र जलवायु परिवर्तनजस्ता समसामयिक विषय प्रमुख एजेन्डाका रूपमा रहने भएका छन्।