August 14, 2026, Friday
२०८३ श्रावण २९

एनपीएल २०२६ : इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबले सुदूरपश्चिमबाट खेल्ने

काठमाडौँ : सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)–२०२६ का लागि इङ्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।

एनपिएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले ९ खेलमा २ अर्धशतकसहित २७५ रन बनाउनुका साथै १२ विकेट लिएका थिए।

राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले इंग्ल्यान्डको घरेलु क्रिकेटमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। बाँयाहाते ब्याटर जैबले टी२० क्रिकेटमा ११२ खेलबाट १७ सय ९२ भन्दा बढी रन बनाएका छन्, जसमा उनको स्ट्राइक रेट १४० भन्दा माथि रहेको छ।

भाइटालिटी ब्लास्टमा मात्रै उनले १६ सय  भन्दा बढी रन बनाइसकेका छन्। स्लो लेफ्ट-आर्म बलरका रूपमा समेत प्रभावशाली रहेका जैबले टी२० क्रिकेटमा २३ विकेट लिएका छन्।

जैबले हालै भाइटालिटी ब्लास्ट र द हन्ड्रेडमा समेत सहभागिता जना’एका छन् र उत्कृष्ट लयमा रहेका छन्। ‘म फेरि आफ्नो घरमा फर्कन पाउँदा निकै खुसी छु र नेपालमा आएर फेरि खेल्न निकै उत्साहित छु,’ जैबले भनेका छन्।

सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो।

यो सिजनको एनपिएल आगामी कात्तिक ९ गतेदेखि हुँदैछ। त्यस्तै, अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई टोलीमा भित्र्याएको थियो।