देशभर मनसुनी वायुको प्रभाव : सुदूरपश्चिमसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी, लुम्बिनी, कर्णाली प्रदेशको केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। तराई भू–भाग केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कर्णाली प्रदेशका पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा मधेश प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागका पछिल्ला मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक रहन पनि अनुरोध गरेको छ।



प्रतिकृया दिनुहोस्