देवानगञ्ज घटना : मृतकका आफन्तले बुझे शव, आजै अन्त्यष्टि

विराटनगर : सुनसरीको देवानगञ्ज वडा नं. ३ कप्तानगञ्जमा भएको घटनामा मृत्यु भएका दुइ युवकको शव पोष्टमार्टमपछि परिवारले जिम्मा लिएका छन् । बिहीबार मध्यराति सरकार र पीडित परिवारबिच सहमति भएसँगै शुक्रबार मृतकका परिवारले शव जिम्मा लिएका हुन् ।
गृहमन्त्री सुधन गुरुङ उपस्थित भएर पीडित परिवारसँग सहमति गरेसँगै परिवारले २५ वर्षे ओमप्रकाश मेहता र २१ वर्षे जयप्रकाश मेहताको शव जिम्मा लिएपछि पाँच दिनदेखि बनेको असहज परिस्थिति सहज हुन पुगेको छ । आइतबार राति भएको दुई पक्षीय युवाबिच भएको झडपमा प्रहरीको गोली लागेर घाइते ओमप्रकाशको सोही दिन राति र जयप्रकाशको विहीबार उपचारका क्रममा मृत्यु भएको थियो ।
दुवैको विराटनगरमा शव यात्रा निकालिएको छ । उनीहरुको शुक्रबार राति नै घटनास्थल देवानगञ्ज वडा नं. ३ कप्तानगञ्ज बजार क्षेत्रमै अन्तिम दाहसंस्कार गरिनेछ । त्यही दाहसंस्कार गरिएको स्थानमा गाउँपालिकाले २५ लाख रुपैयाँ खर्चेर स्मृति पार्क निर्माण गरि दिने गाउँपालिका अध्यक्ष वेचन मेहताले बताए ।
यसअघि जयप्रकाशको शव विराटनगरकै न्यूरो अस्पतालमा राखिएको थियो भने ओमप्रकाशको शव कोशी अस्पतालमा थियो।
गत आइतबार राति देवानगञ्ज-३ कप्तानगञ्जमा दुई समूहबिच भएको विवादका क्रममा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। सो क्रममा ओमप्रकाश मेहताको सोही राति घटनास्थलमै र गम्भीर घाइते भएका जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको थियो।
गृहमन्त्री गुरुङ र मृतक युवकका अभिभावक (बाबु) सँग सहमति भएसँगै देवानगञ्जको कप्तानगञ्ज शुक्रबार बिहानैदेखि शान्त रह्यो । देवानगञ्जसँगै अरु दिन अशान्त रहने इनरुवा, हनिरगर, कोशी, भोक्राहा नरसिंहलगायतका स्थानमा पनि बिहानैदेखि शान्त छ । यद्यपी, जिल्ला प्रशासन कार्यालयले बुधबार रातिदेखि १० वटा स्थानीय तहमा लगाएको अनिश्चितकालिन कर्फ्रयू कायमै छ । शनिबार विहानदेखि अवस्था विश्लेषण गरेर कर्फ्रयू खुकुलो बताउने तयारी भएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले बताए ।
देवानगञ्ज घटनामा पीडित पक्षसँग सरकारले सहमति गरेसँगै अब स्थानीयस्तरमा कायम त्रास र अविश्वास हटाउन पनि तत्काल सबै सरोकारवालाको सक्रिय भूमिका पनि आवश्यक देखिएको छ । न्याय सुनिश्चित गर्दै दुवै समुदायलाई निर्धक्क र सुरक्षित भएर बस्ने वातावरण बनाउन सबै जुट्नुपर्ने देखिएको छ ।
घटनापछि कप्तानगन्ज र आसपासका क्षेत्रमा ठूलो संख्यामा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षा उपस्थिति बढाइए पनि दुवै समुदायका बासिन्दामा रहेको मनोवैज्ञानिक त्रास अझै हट्न सकेको छैन । सम्भावित अप्रिय घटना रोक्न सुरक्षा निकायको सतर्कतासँगै समुदायस्तरमा संवाद र विश्वास निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने देखिन्छ ।
यस्तो अवस्थालाई सहज बनाउन गाउँपालिकाले तत्काल कार्य प्रारम्भ गर्ने भएको छ । देवानगन्ज गाउँपालिका अध्यक्ष वेचन मेहताका अनुसार घटनापछि दुवै पक्षले शव बुझिसके पनि गाउँमा अझै त्रासको वातावरण कायमै छ । अवस्था सहज बनाउन गाउँपालिकाले शनिबारदेखि नै पहल थाल्ने तयारी गरेको हो । दुवै पक्षका प्रतिनिधिलाई बोलाएर वार्ता गर्दै निर्धक्क र सुरक्षित रूपमा बस्ने वातावरण निर्माण गर्ने प्रयास गरिने उनले बताए । उनले घटनामा संलग्न दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै आएको बताए ।
छानबिन समिति घटनाको अध्ययन गरेर शुक्रबार नै काठमाडौं फर्किएको छ । गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा समिति गठित समितिले अध्ययन गरि फर्किएको हो ।





प्रतिकृया दिनुहोस्