October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

राष्ट्रपति पौडेलले लिए प्रधानमन्त्रीसंग मुलुकमा भई रहेका घटना र परिस्थितिका बारेमा जानकारी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका छन्।

देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहीबार शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था क़ायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव क़ायम गर्न सुझाव दिएका छन्।

करिब १५ मिनेटसम्म चलेको उक्त भेटवार्तामा तराई मधेस क्षेत्रमा देखा परेका समस्याहरूका बारेमा केन्द्रित रहेर कुराकानी भएको थियो। भेटका क्रममा प्रधानमन्त्री शाहले देशको पछिल्लो परिस्थितिलाई लिएर सरकार गम्भीर रहेको र समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको बताएको राष्ट्रपति निकट स्रोतले बतायो । उनले राष्ट्रपतिलाई आश्वस्त पार्दै भने, ‘हामीले प्रयास गरिरहेका छौँ, अब समस्याको समाधान हुन्छ। हजुरले यस विषयमा धेरै चिन्ता लिनु पर्दैन।’

जवाफमा राष्ट्रपति पौडेलले मुलुकको बदलिँदो अवस्थाप्रति चासो व्यक्त गर्दै सरकारलाई थप सचेत रहन सुझाव दिए। राष्ट्रपतिले पछिल्लो समय अवस्था अलि गम्भीर बन्दै गएको उल्लेख गर्दै भने, ‘अवस्था अलि गम्भीर बन्दै गएको देखिन्छ, त्यसैले अलि सचेत हुनुहोस्। बरु सबै पक्षसँग सल्लाह गरेर सर्वदलीय कुराकानीमार्फत अगाडि बढ्नु राम्रो हुन्छ।’

भेटका क्रममा शान्ति सुरक्षाका विषयमा समेत संक्षिप्त छलफल भएको शीतल निवास स्रोतले जनाएको छ।

त्येस्तै राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री बालेनले उपराष्ट्रपतिसँग टेलिफोन संवाद गरेका छन् । शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बिहीबार टेलिफोन संवाद गरेका छन् । उनीहरूबिच मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको छ। 

संवादका क्रममा उनीहरूबिच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार-विमर्श भएको छ।